मस्तिष्क फ्लु (कविता)
-जगदीश चन्द्र भन्डारी
अथवा !
तिनीहरूसँग
मुख छ
निधार छ
नाक छ
तिनीहरूसँग
कान पनि छ
निधार मुख
नाक कान
भिन्दाभिन्दै
आकार प्रकारका छन्
तिनीहरूसँग
दुई हात
दुई खुट्टा
पनि छन्
ती फरक फरक
छन्
ती मानिस
मानिन्छन्
ती समयका
अगुवा
बौद्धिक
मानिन्छन्
आशङ्का छ
तिनका
ती अवयव
बर्सौदेखी
थलिएका छन्
सुँघ्न सुन्न
हिंड्न चल्न
सोच्न सम्झन
बिर्संदै गएका छन्
मानिसजस्ता
देखिनु
तर
मानिस नहुनु
गुहे किरा हुनु
क्रान्तिकारी देखिनु
परजीवी प्राणीमा
रातारात फेरिनु
के भएको छ
यो समयका
मानिसलाई
मस्तिष्कमा
फ्लू कोरोना
वा यस्तै यस्तै
विश्वव्यापी
महामारीले
गाँजेको पो
छ कि !
अथवा
विश्वग्रासी
कुनै नयाँ व्याधिले
आफन्तजन पो
बनाएको छ कि !