मजदुर विरोधी गतिविधि गर्नेहरुलाई तुरुन्त कारबाही गरिनुपर्छ : ईश्वर तिमल्सिना


१० भदौ २०७७ काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमल्सिनाले मजदुर विरोधी गतिविधि गर्नेहरुलाई तुरुन्त कारबाही गरिनुपर्छ भनेका छन् । कोभिड–१९ को त्रासदी सँगै सरकारले सुरु गरेको लकडाउन र निषेधाज्ञाले श्रमिक र जनताको जीवन संकटग्रस्त बनेको भन्दै तिमल्सिनाले एक वक्तव्यको बुँदा नं ३ मार्फत सो कुरा भनेका हुन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष तिमल्सिनाले बुधबार जारी गरेको प्रेस वक्तव्यमा अहिले देशको आर्थिक, राजनीतिक, सामाजिक र अन्य संकट थपिदै गएकाले मुख्यतः मजदुर,किसान, विपन्न वर्ग समुदायको दैनिकी कष्टकर बनेकोमा सरकारले सो समस्यालाई सम्बोधन नगरेको उल्लेख गरिएको छ । डब्लुएचओले संसारभर स्वास्थ्य महामारी घोषणा गर्दा नेपालमा पनि कोभिड–१९ को असर देखाई सरकारद्वारा ०७६ चैत्र ११ देखि श्रावणसम्म निरन्तर लकडाउन गरेको थियो । हाल पुन: संघीय राजधानी सहित देशका अधिकांश शहर तथा जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । देशको आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा यसले विभिन्न संकट उत्पन्न गरेको छ । करिब १ तिहाई मजदुरको पूर्ण रोजगारी समेत गुमेको स्थितिमा मजदुर वर्गको तलब सुविधामा भीषण कटौती गरिएको छ । होटल, पर्यटन, अटो, यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुको संकट विस्फोटक बन्दै छ । यो स्थिति बिस्तारै निर्माण, उद्योग, संघ संस्था, सेक्युरिटी आदि क्षेत्रमा काम गर्ने मजदुर तह सम्म पुग्दै छ । वैदेशिक रोजगारीको शिलशिलामा मध्ये पू र्व, मलेसिया, भारत र विश्वका अनेकौं देशमा रोजगारीमा रहेका नेपाली श्रमिक वर्गको ठुलो हिस्साले रोजगारी गुमाएर उनीहरुको स्वदेश फर्कने क्रमको विषय अन्योल ग्रस्त बनेको छ ।
यो विषम परिस्थितिमा श्रमिक वर्ग र उत्पीडित जनताको संकट सम्बोधन र समाधानको पक्षमा दृढतापुर्वक उभिनुको सट्टा मजदुर वर्गको रोजगारी कटौती, तलब सुविधा कटौती सहित मजदुर विरोधी सम्झौताको पक्षमा केही पक्ष सक्रिय देखिन्छन् जुन निकै दुःखद विषय हो । हाम्रो संगठन यसको सशक्त विरोध, भण्डाफोर र प्रतिरोधको पक्षमा छ ।

प्रेस वक्तव्यमा भनिएको छ:-

१. राज्यले श्रमिकहरुको रोजगारी र तलब सुविधा यथावत राखि श्रमिक वर्गको गाँस, बास, स्वास्थ्य, शिक्षा र सुरक्षाको सम्पूर्ण ग्यारेन्टी गर्नु पर्दछ ।
२. राज्यले वैदेशिक रोजगारीमा रहेका श्रमिक हरुलाई उच्च संकट, मध्यम संकट र सामान्य संकटको आधारमा वर्र्गीकरण गरि हवाई भाडा, स्वास्थ्य परिक्षण सहित आवश्यक सम्पूर्ण व्यवस्थापन गर्नु पर्दछ ।
३. पूर्ण रोजगारी गुमाएका श्रमिकहरुलाई अविलम्ब नगद राहत र बेरोजगारी भत्ताको व्यवस्था गरी मजदुर वर्गलाई रोजगारीबाट निष्कासन गर्ने, तलब सुविधाको कटौती गर्ने र मजदुर विरोधी सम्झौता र गतिविधि गर्नेहरुलाई अविलम्ब कारवाही गरिनुपर्छ ।

४. निजी क्षेत्रको लगानीमा सञ्चालित सम्पूर्ण हस्पिटलहरुलाई अविलम्ब राष्ट्रियकरण गरी स्वास्थ्य सेवालाई जनताको आधरभुत अधिकारको रुपमा स्थापित गर्नुपर्दछ । क्रमशः निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण उद्योग, कलकारखानाहरुको पनि राष्ट्रियकरण गर्नुपर्दछ ।
५. राज्य दीर्घकालीन योजना अनुसार रोजगारीका नयाँ सम्भावनाको खोज र कृषि मजदुरको विकासमा जोड दिइ मौलिक तथा अन्तर्राष्ट्रिय सिप, स्वदेशी मजदुर, स्वदेशी उत्पादन र उपभोगको दिशामा अगाडि बढ्नु पर्दछ ।

newskiran.com

newskiran.com

You May Also Like