२४ साउन २०७७ काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेवारहरुको आदिवासी भूमिमा सरकारले दमन गरेको बताएका छन्। शनिबार खोकनामा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गजुरेलले आदिवासी नेवारहरुको भूमिमा सरकारले प्रहरी लगाएर दमन गरेको बताएका हुन् । आदिवासी जनजातिहरुको भाषा र संस्कृतिमा दमन गरेर सकाउने अनि भूमिमा पनि दमन सुरु गर्ने बर्तमान सरकारको सबै मिलेर विरोध गर्नुपर्ने उनले बताएका छन्। कार्यक्रममा अखिल नेपाल जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओम गुरुङ ले आदिवासी जनजातिका आइएलओ अधिकार र पहिचान विरोधी सरकारी हस्तक्षेपको आफू विरोध गर्ने बताएका छन्।उनले कुनै समुदायको भाषा, संस्कृति, धर्म माथि राज्यको हस्ताक्षेपकारी नीति राम्रो नहुने प्रष्ट पारेका छन्। समुदायको भाषा, धर्म र संस्कृति सकिएपछि भूमि पनि सकिने हुनाले आफ्ना ती ३ कुरा जोगाउन सम्पूर्ण खोकनाबासी एकजुट भइ लाग्न आग्रह गरेका छन्। सरकारले विकासको नाममा समुदायको विनास गर्न नहुने पनि गुरुङको तर्क थियो ।
कार्यक्रममा सयौ स्थानीय नेवारहरु उपस्थित थिए। स्थानीयहरु एकजुट भइ अघि बढ्न डा.महेशमान श्रेष्ठले नेवारी भाषामा आफ्नो राय राखेका थिए । ११ बजे सुरु भएको अन्तरक्रिया कार्यक्रम करीब ३ बजेतिर सकिएको थियो । नेवा:राष्ट्रिय मुक्ति मोर्चाको संयोजकत्वमा कार्यक्रम चलेको थियो ।