ग्वार्को फ्लाइओभर निर्माण असारसम्म म्याद थपिँदै, दुई वर्षमा ५० प्रतिशत काम सकिएको आकलन

विमल खतिवडा

ललितपुर—ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम तोकिएको समयमा नसकिएपछि पन: असारसम्म म्याद थपिने भएको छ । ०८० फागुन १२ भित्र सकिनु पर्ने ‌काम अझै नसकिएकाले म्याद थपिने भएको हो। निर्माण थालेको दुई वर्षमा ५० प्रतिशत मात्र काम सम्पन भएको छ । ठेक्का लगाउने निकायले कार्यादेश दिएको मितिबाट समयावधि गणना सुरु हुँदा २ वर्ष भित्र कार्य सम्पन्न गरिसक्नुपर्ने थियो ।

सो फ्लाईओभर निर्माणका लागि ०७८ फागुनमा कार्यादेश दिइएको थियो । उक्त समयभित्र डिजाइन परिवर्तनलगायत कारणले काम सम्पन्न हुन नसकेको आयोजनास्रोतको भनाइ रहेको छ ।त्यसो त ठेक्का भएको १३ महिनापछि डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर निर्माण व्यवसायीले डिजाइन रिभाइजको काम गर्न सुरु गरे ।

म्याद थप्नेबारे कुनै निर्णय गरी नसकेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताएका छन् । ‘काम सक्न दबाब दिइरहेका छौं,’ उनले भने, ‘म्याद थप्नेबारे कुनै निर्णय भइसकेको छैन, असारसम्म थप्नेबारे छलफलकै क्रममा छ ।’ असारसम्म सबै काम सकिसक्ने उनको दाबी छ । ‘धेरै काम सकिइसकेको छ,’ उनले भने, ‘पहुँच मार्गमा ग्राबेल फिलिङको काम भइरहेको छ, यो काम सक्न डेढ महिना लाग्छ ।’ पुलको ७ वटा बिम सबै ढलान भइसकेको उनको बताए ।

निर्माणका क्रममा डिजाइनमा समस्या आएपछि ठेकेदार कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले मुख्य काम रोकेर डिजाइनमा पुनर्विचार (रिभाइज) गरेको थियो । रिभाइज डिजाइन सडक विभागले ०८० भदौ १० मा मात्र स्वीकृत गरेको थियो, जुन डिजाइनअनुसार १.२ मिटर व्यास र ३० मिटर लम्बाइका दुवै साइडमा १२/१२ वटा पाइल (पिलर) निर्माण गरिने उल्लेख भएसँगै त्यहीअनुसार निर्माणको काम अघि बढाइएको थियो ।

चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । ‘पुलका बिमहरूलाई क्रेनबाट माथि राखेर फिट गर्ने काम पनि बाँकी नै छ,’ निर्देशक शाक्यले भने, ‘त्यसका लागि भारतबाट क्रेन आउँदै छ । भैरहवा हुँदै १० दिनभित्र काठमाडौं आएपछि बिमलाई राखिनेछ ।’ यो काम १० दिनभित्र सकिने उनको दाबी छ ।

‘सम्झौतामा उल्लेख भएअनुसार जिम्मेवारी पूरा गर्न नसकेको खण्डमा म्याद थप हुन्छ,’ उनले भने, ‘तर सम्झौतामा भएभन्दा बढी काम गरायौं, त्यसका लागि छुट्टै रकम र समय दिनुपर्ने हुन्छ ।’ सुरु डिजाइनमा र्‍याम्पको दुई मिटरसम्म पाइलको काम गर्ने उल्लेख भए पनि जमिनमुनिको कुरा नभएको उनको भनाइ छ ।

‘फाउन्डेसन इम्प्रुभमेन्ट टेक्निकको काम निर्माण व्यवसायीले दुई मिटरसम्म गर्ने डिजाइनमा थियो,’ शाक्यले भने, ‘त्योभन्दा बढी थिएन, हामीले थप १० मिटर जमिनमुनिसम्म भारवहन क्षमता अभिवृद्धि गर्ने गरी काम गराएका हौं ।’ त्यसरी चार हजार पाइल निर्माण गरिएको उनको भनाइ छ । यो खण्डमा फ्लाइओभर निर्माणका लागि सडक भत्काएदेखि दैनिक ट्राफिक जाम हुने गरेको छ । कोटेश्वरदेखि ग्वार्को खण्डमा ट्राफिक जामको समस्या बढी हुने गर्छ । निर्माण व्यवसायीले ७ महिना समय र सम्झौताभन्दा बढी काम गरेको रकम दिनुपर्ने दाबी गरेको छ । थप रकम भने नदिने भनिएको उनले सुनाए । सरकारले ०७९/८० को बजेट वक्तव्यमा उपत्यकाको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने र कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास निर्माण थाल्ने उल्लेख गरे पनि ग्वार्कोबाहेक अन्यत्र काम सुरु भएको छैन ।

सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन १ अर्ब ३४ करोड रुपैयाँ लाग्ने जनाइए पनि अहिलेसम्म स्रोत सुनिश्चितता भइसकेको छैन । ‘सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माणका लागि डिजाइन भइसकेको छ,’ शाक्यले भने, ‘स्रोत सुनिश्चितता माग गरेर विभाग हुँदै अर्थ मन्त्रालय पठाएका छौं । तर अहिलेसम्म केही जानकारी आएको छैन ।’ स्रोत सुनिश्चितता भए निर्माणमा जान समस्या नहुने उनको भनाइ छ । ‘चालु आर्थिक वर्षमा स्रोत सुनिश्चितता भए आगामी आर्थिक वर्षमा दुवै खण्डमा ठेक्का भएर निर्माणको काम सुरु हुन्छ,’ उनले भने । कलङ्की चोकमा फ्लाई ओभर निर्माणसँगै हटेको सवारी चाप ग्वार्कोमा कहिलेबाट हट्ला भन्ने जनगुनासो बढेपछि सो फ्लाई ओभर बन्न लागेको हो ।

यस्तो छ अहिले बीएन्ड बी देखि ग्वार्को सम्मको भिडियो