भूतखेल चहुर शनिबार भीडाम्मे,परेवाहरु चारो खोज्दै, हेर्नुहोस् भिडियोसहित

टोखा नगरपालिका वडा नं ३ मा रहेको भूतखेल चहुर शनिबार भीडाम्मे हुने गरेको छ । मानिसहरु भिडाम्मे भएपनि परेवाहरु भने चारो खोज्दै हिँड्ने गरेका छन् । पार्टी, पिकनिक र सुटिङ स्थलको रुपमा आजभोलि भूतखेल पार्कलाई चिन्ने गरिन्छ ।कसै कसैले भने प्रेमी प्रेमिकाहरु घुमफिर गर्ने स्थल पनि भन्ने गरेका छन् । भूतखेल १ सय ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । स्थानीय बूढापाकाका भनाइ अनुसार भूतखेल चहुरमा पहिले पहिले गाईवस्तु चराउन गएका गोठालाहरु समेत गायब हुन्थे ।त्यसैले, दिउँसोको समयमा पनि हतपत्ति मानिसहरु एक्लै दुक्लै हिड्न डराउँथे। स्थानीय एक व्यक्तिले बताए अनुसार सामाकोशी चोकबाट करीब ४.१० किलोमिटरको दुरीमा रहेको भूतखेल पार्कमा पहिले पहिले बच्चा रोएर तर्साउने गर्दथ्यो । अहिले बच्चाहरु खेलेर अरुलाई तर्साउछन् । अभिभावकलाई हैरान पार्छन् ।

अहिले तान्त्रिक विधिबाट मसानकालीको मन्दिरमा प्रेतात्मा उत्रिएपछि तर्साउने भुत भागेको स्थानीयको भनाई छ । स्थानीयहरु पिपलको रुख नजिकै उतारिएको मन्दिर मसानकालीमा(सेती,काली, गणेश र भैरवी) को प्रतिमूर्ति स्थापना भएपछि दुख, कष्ट नष्ट भएको मान्ने गर्दछन् ।हरेक वर्ष बैशाखमा नयाँ पुजारी एक वर्षको नियुक्ति गरिने र उसले बिहान सधै त्यहाँ पुजापाठ गर्ने गर्दछन् । पिकनिक स्थल, स्पोर्ट मैदान, युवायुवती घुमफिर पार्क, म्युजिक भिडियो सुटिङ स्थल,पिङदह,काली इन्द्रायणी जस्ता मनोरम एवम धार्मिक मन्दिर समेत रहेको भूतखेल पार्कमा शनिबारको दृश्य भिडाम्मे हुनु खासै नौलो कुरा होइन् ।त्यसो त अझैपनि केही कमजोर मनस्थितिका बालबालिकाहरु खेल्दाखेल्दै ढल्ने गरेको बसुन्धरा निवासी एक शिक्षकले बताए ।जाडोमा चाँडै घाम लाग्ने र गर्मीमा शितलमय वातावरण हुने भएकाले भूतखेल सबैको घुमफिर पार्क बनेको छ । खेलमैदानमा विभिन्न किसिमका प्रतियोगितात्मक खेल पनि हुने गरेको छ । विगतमा भूतखेल्ने ठाउँ भएर भूतखेल भनिएको र आजभोलि धेरैले भूतखेल भन्न छाडेर भूखेल भन्न थालेको एक स्थानीय रमेश केसीले बताए । न्युजकिरण डटकम संवाददाताले तयार गरेको भिडियो दृश्यमा यस्तो छ भूतखेल वा भूखेल .