गत वर्ष भन्दा धान रोपाइँमा उल्लेख्य वृद्धि


१५ असार २०७७ काठमाडौं ।गत वर्षको तुलनामा यसवर्ष धान रोपाइँमा उल्लेख्य वृद्धि भएको छ । असार १० गतेसम्म २०.०५ प्रतिशत धान रोपाइँ भएको छ । जब गतवर्ष यतिबेला ११.६४ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । कृषि मन्त्रालयका अनुसार सबभन्दा बढी २६.०७ प्रतिशत धान रोपाइँ उच्च पहाडी क्षेत्रमा भएको छ । त्यस्तै मध्ये पहाडी क्षेत्रमा २०.०७ र तराई क्षेत्रमा १९.७५ प्रतिशत मात्र रोपाइँ भइसकेको जानकारीमा आएको छ।प्रदेश १ मा १०.४१, प्रदेश २ मा १५.५३, वागमती प्रदेशमा १८.६८, गण्डकी प्रदेशमा १३.७२, प्रदेश ५ मा ३६.२६, कर्णाली प्रदेश २०.११ र सुदुरपश्चिममा २१.४६ प्रतिशत धान रोपाइँ भइसकेको कृषि मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले बताए ।
कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले विगतको तुलनामा यसपटक धान उत्पादनमा वृद्धि हुने दावी गरे ।

आ.व. २०७६/०७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलबाट ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमशः २.२० प्रतिशत र १.०५ प्रतिशत कमी भए पनि अघिल्लो वर्षको तुलनामा उत्पादकत्व १.२ प्रतिशतले बृद्धि भएको अनुमान छ ।नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती हुने गरेको देखिन्छ । त्यसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढी छ । अन्नबाली उत्पादनको कूल क्षेत्रफलको करीब ४३ प्रतिशतमा धान खेती हुने गरेको र कूल अन्नबाली उत्पादनमा ५३ प्रतिशत धान हुने गरेको छ । नेपालमा बार्षिक करिब १.५ खर्ब रुपैयाँ बराबरको धान तथा यसका उप–उत्पादनहरु प्राप्त हुने गर्छ ।मुलुकको कूल गार्हस्थ्य उत्पादनमा २६.५० प्रतिशत अंश कृषिको रहेकोमा धानको कृषिक्षेत्रको ग्राहस्थ्य उत्पादनमा १५.३५ प्रतिशत योगदान रहेको खबर रातोपाटी डटकममा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like