कविता’होशले होशियार’
-डा.नवराज लम्साल
१.रोक्ला रोकोस जमिन जल जे रोकियोस रोक्न देउ,
छेक्ला छेकोस वर र पर जे छेकियोस छेक्न देउ,
बोल्ला बोलोस वचन बिटुलो बोल्छ जे बोल्न देउ,
नेताजी हो तर मुलुकको साँधसीमा नदेउ।
२.छिद्रा खोज्दै मधुर लयको छिद्र ताकेर भद्र,
भन्ला आओ सहज सुखले जान दिन्छ समुद्र,
आमा बेची कुन मखमली शान दिन्छौ र सस्तो,
नेताजी हो अब त बुझ हो झुक्किने खेल यस्तो।
३.कालापानी कलकल नदी कल्कलाई बगे हो,
टिष्टा खोला सलसल सर्दै सल्वाई बगे हो,
खोज्दै जाँदा समर युगको देहरादून पुग्छौ,
ती माग्दैनौ तर मुलुक यो एक इन्ची दिदैनौं।
४सिमा रेखा रगत बहने छेकिने बाँध शाला,
तिर्खा प्यून हिमशिखर हौं बाघका वीर छाला,
कस्तो आयो समय उसले साँध मिच्दै छ उल्टो,
नेताजी हो अलमल बिना सल्क आफै अगुल्टो।
५.ती योद्धाका रगत नभुल गर्ज शादुल गर्ज,
हाम्रो साझा सहमति बनोस् छोडे हुङ्कार मर्द,
जागा होऊ सकल दुनियाँ साथमा छन् तयार,
नेताजी हो हरदम हुनू जोशले होशियार।