प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को जन्मोत्सव आज

पुष्प कमल दाहाल(प्रचण्ड) को जन्म वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको थियो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा नै लिए ।उनले विक्रम सम्वत २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट एस.एल.सी. उत्तीर्ण गरे । त्यसपछि २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरागरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी गरी एम.पी.ए.सम्मको अध्ययन गरेका छन् । कक्षा १० मा अध्ययनरत हुँदा उनको नाम छविलाल दाहाल थियो । पछि उनले नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका थिए । वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा उनको कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल आफू पुष्पकमल भन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्छन् ।

वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गा.वि.स.मा बसाइ सरेका प्रचण्डको वि.सं. २०२६ बैशाखमा सीता पौडेलस सँग विवाह भयो । सन्तानमा तीन छोरी र एक छोरा छन् ।उनी नारायणी विद्या मन्दिर मा.वि.शिवनगर–२०२९ साल, डण्डा मा.वि.नवलपरासी र भीमोदय मा.वि., आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा यु.एस.एड.मा सेवारत रहेका थिए ।

वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक यात्रा गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे ।उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित पनि बने । प्रचन्ड वि. सं. २०३८ मा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भइ २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित बनेका थिए ।

विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री बनेका प्रचन्ड २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो बिस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री बने । उनी नेकपा (माओवादी)ले सुरु गरेको २०५२ सालको जनयुद्धको नेतृत्वदायी भूमिकामा रहँदै २०५७ सालमा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बनेका थिए ।

वि.सं. २०५८ पछि जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक बनेका थिए ।०६३ भदौ २२-२४ मा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित भृकुटी मन्डपको कार्यक्रम समुद्घाटन तथा प्रशिक्षण गरेका प्रचन्ड पहिलोपटक २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा बने ।उनी २०६९ सालमा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बने । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित प्रचन्ड २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित बने । उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गर्दै आएका प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित उनी संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं.–५ बाट निर्वाचित भएका थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३।०४।१९ गते व्यवस्थापिका–संसदमा ३६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित बनेका थिए । हाल प्रधानमन्त्री पदमा आसीन रहेका छन् ।