पक्राउ परेका ठूला जुवाडे सुटुक्क रिहा, प्रमुख जिल्ला अधिकारी भन्छन् प्रशासन कार्यालयमा समन्वय भएन?

ललितपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेका ठूला जुवाडेलाई सुटुक्क रिहा गरेको खुलासा भएको छ ।
जुवाडेलाई रिहा गर्दा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितसँग समन्वय नगरेको प्रशासन कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार ललितपुर प्रहरी प्रमुख सिद्धि विक्रम शाहको निर्देशनमा उनीहरू रिहा भएका हुन् । स्थानीय तथा केही राजनीतिक दलका नेताको व्यापक दबाबपछि बुधबार साधारण तारिखमा रिहा भएका थिए ।ती ८ जुवाडेहरूलाई प्रहरीले बुधबार बिहान पुनः नियन्त्रणमा लिएर कारवाही पकृया अगाडि बढाएको जनाएको छ ।

ललितपुर महानगरपालिका वडा नं. १५ स्थित क्लासिक टावरको ब्लक ‘ए’ बाट मंगलबार साँझ प्रहरीले छापा मारेर ८ जुवाडे करिब १७ लाख नगद सहित नियन्त्रणमा लिएको थियो ।

प्रहरी स्रोतका अनुसार जुवा खेलेको आरोपमा पक्राउ पर्नेमा हेमकुमार लावती, सरोज लिम्बू, विरोस लिम्बु, अष्टमान लामा, सरोज प्रसाद आचार्य, प्रकाश काफ्ले, रेमकुमार लिम्बू र सन्जिप महर्जन रहेका थिए । लावती नेपाली सेनाका अवकाश प्राप्त उपरथीसमेत हुन् । प्रहरी स्रोतका अनुसार, पूर्वजर्नेल लावतीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए । यस अघि जुवाडेलाई पक्राउ गरेपछि प्रहरीको वेभपेज मार्फत सार्वजनिक गर्ने गरेको भएतापनि यसपटक पक्राउ परेका जुवाडेहरुको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

प्रहरीले उनीहरूबाट १६ लाख ८२ हजार ५०० नगद, ८ बुक तास सहित ८ जनालाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट मंगलबार गएको २५ जना प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । जुवातास खेल्ने क्लासिक टावर वृत्त सातदोबाटोको एरिया भएपनि परिसरले छापा मारेको थियो । यसको पुष्टि ललितपुर प्रहरी प्रमुख सिद्धीविक्रम शाहले गरे ।

तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काले राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा समायोजन गरेका हाल ललितपुर परिसरका प्रमुख, एसएसपी सिद्धिविक्रम शाहको कार्यक्षमतामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । उनै शाहले जुवा खालबाट पक्राउ परेकाहरुलाई सुटुक्क छाड्न निर्देशन दिएको आरोप पनि छ । यद्यपि उनले प्रहरीले केन्द्रको नीति अनुसार चाडबाड मनाउन छोडेको दाबी गरेका छन् ।

यसअघि शाह रौतहट प्रहरी प्रमुख हुँदा पत्रकारलाई लागु औषध राखेर फराएको अरोप समेत लागेको थियो । प्रहरी हेडक्वाटरले उनीमाथि कारवाही गर्न अनुसन्धान गर्न टोली बनाएको भएपनि उनीमाथि कुनै कारबाही भएको छैन् । यो समाचार दैनिकी न्युजमा प्रकाशित छ ।