पाटन अस्पतालका स्वास्थ्यकर्मीहरुले पारे आकस्मिक बाहेकका सबै सेवा ठप्प

गत कात्तिक १८ गते पाटन अस्पतालकाको ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि कुटपिट गरेको भन्दै स्वास्थ्यकर्मीहरुले आन्दोलन गरेका छन् ।

चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलन गरेका हुन् । चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरुनै विरोध प्रदर्शनमा उत्रिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो ।

प्रचलित कानुन बमोजिम चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्ने मागसहित सेवा प्रवाह ठप्प पारिँदा सेवाग्राहीलाई असहज परिस्थिति बनेको छ ।

उपचाररत दुई बिरामीको सुईबाट औषधि दिएको केही समयमा नै मृत्यु भएको थियो । ५ दिनदेखि अस्पतालमा भर्ना भएर निमोनियाको उपचार गराइरहेका ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६० वर्षीय कृष्णबहादुर नगरकोटीको औषधि दिएको केही बेरमै मृत्यु भयो ।

पाटन अस्पतालका मेडिसिन विभागका प्रमुख प्राडा युवराज शर्माका अनुसार ५ दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका दुवै बिरामीलाई ‘सेफ्ट्रियाक्सोन’ र रगत पातलो गर्ने औषधि ‘हेपारिन’ चलाइएको थियो । अस्पतालको एउटै वार्डमा भर्ना भएर उपचार गराइरहेका दुवै बिरामीलाई शनिबार ड्युटीमा रहेकी नर्सले सुईमार्फत उक्त दुई एन्टिबायोटिक औषधि दिएकी थिइन् ।सुई लगाएको केहीबेरमा दुबैको मृत्यु भएको थियो । त्यस पश्चात बिरामी कुरुवाहरुले पत्रकारलाई बोलाएर बिरामीको मृत्युबारे भनेका थिए ।दारी काटेर चिटिक्क परेर घर जान पाइने आसमा पुरुष बिरामी थिए जसलाई सुई लगाएको केही बेरमै मृत्यु भएको देखियो । अर्का बिरामीलाई सुई लगाएको केहिबेरमै उनी बेहोस भएर ढलिन ।त्यस बेला नर्स पनि भागेको बिरामी कुरुवाले बताए ।

मृत्युपछि आफन्तहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाउँदै आक्रोशित भएका थिए। सो क्रममा उनीहरुले ड्युटीमा रहेका केही चिकित्सक तथा नर्सहरुमाथि हातपात तथा दुर्व्यवहार गरेका थिए । लगत्तै पेसागत सुरक्षाको माग गर्दै पाटन अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरूले चिकित्सकमाथि कुटपिट गर्ने कार्यमा संलग्नहरूलाई सरकारले कारबाही नगरेसम्म आफूहरूको आन्दोलन नरोकिने बताएका छन् । सरकारको तर्फबाट हालै स्वास्थ्यकर्मी तथा डाक्टरहरुको सुरक्षा गरिने गरी एक समझौतामा हस्ताक्षर गरिएको छ ।