गत साल २०१९को डिसेम्बरदेखि चीनको हुबेइ प्रान्तको राजधानी बुहान सहरबाट सुरु भएको कोरोना भाइरसजन्य प्राणघातक रोग कोभिड–१९ले अहिले पुरै विश्वभरी महामारीको रुप लिएको छ । यो सङ्क्रमणलाई पहिलो १ लाख मानिसमा विस्तार हुन ४ महिना लागेको थियोे भने दोस्रो एक लाखमा विस्तार हुन करीव १३ दिन, अर्को १ लाखमा विस्तार हुन ४ दिन र पछिल्लो एक लाखमा विस्तार हुन २ दिन मात्र लागेको देखिन्छ । यसको विस्तार ज्यामितीय तरीकाले हुँदै गएको छ, यो निकै डरलाग्दो स्थिति हो । पछिल्लो आँकडा अनुसार यसबाट प्रभावित १९७ वटा देशमा ४,२४,८६३ जना सङ्क्रमित भएका छन्, ती मध्ये १,०९,२०९ जना उपचारको क्रममा निको भएका छन्, १८,९३९ जनाको मृत्यु भइसकेको छ र यो सङ्ख्या बढिरहेको छ ।
अहिलेसम्म नेपालमा दुई जनामा मात्र कोभिड–१९को सङ्क्रमण भएको घोषणा गरिएको छ । तर, नेपालमा दुईजना मात्र सङ्क्रमित छन् भन्ने स्थिति छैन । यस बीचमा बाहिरबाट थुप्रै मानिस भित्रिएका छन्, ती मध्ये धेरै मानिस सङ्क्रमित हुन सक्छन् । यो बेला राज्यको ध्यान सङ्क्रमितहरुको पहिचान गर्न व्यापक परीक्षण गर्ने, तिनलाई अनिवार्य रुपमा क्वारेन्टाइन र आइसोलेशनमा राखी सङ्क्रमणको विस्तार हुन नदिने, सङ्क्रमितहरुको उपचार गर्ने र उपचारमा संलग्न डाक्टर तथा नर्सहरु लगायत सम्बन्धित सम्पूर्ण कर्मचारीहरुलाई सङ्क्रमणबाट बचाउनका लागि आवश्यक सामग्रीको आपूर्ति गर्ने काममा केन्द्रित हुनु जरुरी छ । सङ्क्रमणलाई विस्तार हुन नदिन सरकारले गरेको देशैभरी लक डाउन गर्ने निर्णय सही छ तर यति मात्र पर्याप्त छैन । यो स्थितिमा लक डाउन गर्ने निर्णयलाई निर्वाध रुपमा कार्यान्वयन गराउन र माथि उल्लिखित काममा जोड दिन सरकार समक्ष हाम्रो पार्टी विशेष माग गर्दछ ।
अर्कोतिर महामारीका बेला भ्रष्टाचारी, काला बजारिया, दलाल, माफिया, बिचौलिया र नाफाखोरहरुले औषधि, खाद्यान्न र इन्धन जस्ता दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाब सिर्जना गरी अनुचित फाइदा उठाउन खोज्छन् र यसको असर नेपालमा देखिन थालिसकेको छ । त्यसका साथै विभिन्न व्यवसायहरु बन्द हुन गएको स्थितिमा थुपै्र श्रमजीवि मजदुरहरु बेरोजगार हुन गई तिनको रोजीरोटीको समस्या गंभीर बन्न गएको छ । हामी यस प्रकारको स्थितिमाथि ध्यान दिंदै समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।
अहिले विश्वमा जुन महामारी आएको छ त्यसको नियन्त्रण गर्न राज्यको मात्र होईन जनताको पनि महत्वपूर्ण भूमिका रहन्छ । गत ४ महिनाको अनुभवले के देखाएको छ भने जुन देशमा राज्यले महामारीलाई सुरुबाटै गंभीर रुपमा लियो, प्रभावित क्षेत्र वा सिङ्गो देशलाई लकडाउन गरेर सङ्क्रमितहरुबाट बचाउन सेल्फ क्वरेन्टाईन र आइसोलेशनमा जान निर्देशन दियो र जनताले त्यसलाई साथ दिए ती देशमा सङ्क्रमणको गति धीमा भएको छ । त्यसको विपरीत सरकार सुरुबाटै कडा रुपमा प्रस्तुत नभएका अथवा सरकारका सही निर्णयहरु पनि कार्यान्वयन नगरिएका देशहरुमा भने यो सङ्क्रमण फैलिंदै गएको छ । नियन्त्रण उन्मुख चीनको स्थिति र अनियन्त्रित बन्दैगएको इटली, स्पेन र अमेरिका जस्ता देशको स्थितिले यसलाई स्पष्ट पारेको छ ।
अन्तमा, यतिबेला सिङ्गो देश कोभिड–१९ जस्तो भयानक महामारीको लपेटामा परेको छ । यसको प्रकोपलाई सिङ्गो राष्ट्र एक ढिक्का भएर मात्र सामना गर्न सकिन्छ । यो स्थितिमा, सरकारका सही निर्णयहरुलाई निर्वाध रुपमा कार्यान्वयन गर्न, गलत र अपुरा निर्णय सच्याउनका लागि उपयुक्त आलोचनात्मक सुझावहरु दिन र महामारीका विरुद्ध एकतावद्ध भएर लड्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) आम नेपाली जनतामा हार्दिक अपील गर्दछ ।”
मिति २०७६÷१२÷१२ किरण
नेकपा क्रान्तिकारी माओवादी