सोह्र श्राद्ध आजदेखि समाप्त, आइतबार घटस्थापना

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजबाट सकिन लागेको छ।

भोलि घटस्थापना अर्थात् नौरथा सुरु हुने दिन अघि आज सोह्र श्राद्ध सकिन लागेको हो । दुर्गा पक्ष अर्थात् बडादशैँ सुरु भोलिबाट हुने गर्दछ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोह्रश्राद्ध र बडादशैंको पर्व पछि सरेको हो ।केही पन्डितले भने पितृपक्ष आज सकिएपनि सोह्रश्राद्ध आइतबार मात्र समापन हुने जनाइएका छन् । आइतबारदेखि बडादशैँ अर्थात् दुर्गापक्ष सुरु हुन्छ । चाडपर्व तथा ठुला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।

यो समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पुरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । कतिपयले भने कुल र वायु पुज्ने हुनाले पितृलाई एकदिन सम्झिने गरेका छन् ।