क्रान्तिकारी पत्रकार महासंघद्वारा पत्रकारहरुको विशेष स्वास्थ्य कोषको स्थापना माग

क्रान्तिकारी पत्रकार महासंघले कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै समाचारका लागि फिल्डमा खटिने पत्रकारहरुको स्वास्थ्यका लागि विशेष व्यवस्था गर्न जोडदार माग गरेको छ । महासंघका अध्यक्ष इन्द्र राउतले शुक्रबार एक वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् ।
वक्तव्यमा भनिएको छ, “कोरोना भाइरस (कोभिड–१९) विश्वका १८२ देशमा फैलिसकेको छ । यो भाइरसले आजसम्म १० हजार ४९ जनाको ज्यान लिइसकेको छ भने शुक्रबारसम्म २ लाख ४६ हजार २० जना संक्रमित बनेका छन् । तीव्र गतिमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नेपाल उच्च जोखिममा रहेको छ ।

भारतका २० वटा राज्यमा फैलिएको कोरोना भाइरस नेपालसँगको खुला सिमाना र ठूलो संख्यामा नेपाली कामदार भारतबाट नेपाल फर्किरहेको सन्दर्भमा नेपालमा संक्रमितहरुको संख्या भित्रभित्रै बढिरहेको हुनसक्ने अनुमान गर्न थालिएको छ । संभावित जोखिमको मध्येनजर गर्दै सरकारले जति तीव्रताका साथ यसको पूर्वतयारी गर्नुपर्ने हो त्यो गर्न सकिरहेको छैन ।

संक्रमणको जोखिमबाट नागरिकहरुको स्वास्थ्य रक्षा गर्नु सरकारको दायित्व हो । माहामारीबाट बच्न जनताहरु स्वयम्ले पनि उच्च सतर्कता देखाउनुपर्ने देखिएको छ ।
यस अवस्थामा दिनरात प्रत्यक्ष रिपोर्टिङमा खटिने र संक्रमित तथा घटनास्थलमा पुगेर स्थलगत रिपोर्टिङ गर्नुपर्ने हुँदा पत्रकार तथा सञ्चारकर्मीहरुको स्वास्थ्य स्वभाविक रुपमा थप जोखिममा रहेको छ । तसर्थ, पत्रकारहरुको लागि जोखिमयुक्त स्थानमा रिपोर्टिङमा जाँदा प्रयोग गरिनुपर्ने आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन र पत्रकारहरुको स्वास्थ्य रक्षाका लागि विशेष कोषको स्थापना गर्न आम श्रमजीवी पत्रकारहरुको नेतृत्वदायी संगठन क्रान्तिकारी पत्रकार महासंघ सरकारसित जोडदार रुपमा माग गर्दछ । र, त्यसका लागि पहल गर्न र अग्रसरता देखाउन सञ्चार सम्बद्ध संस्था, मिडिया हाउसलगायत सम्बन्धित सबैसँग हार्दिक आग्रह समेत गर्दछ । साथै, समाचार संकलनका लागि फिल्डमा खटिने सबै श्रमजीवी पत्रकारहरुलाई पनि उच्च सतर्कता अपनाउन विशेष रुपमा अपील गर्दछ ।

newskiran.com

newskiran.com

You May Also Like