राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन


आदरणीय दिदिबहिनी तथा दाजुभाइहरू,

आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईंहरु सामु उपस्थिति भएको छु । यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं ।

नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकोले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न मैले निर्देशन दिँदै आएको छु । देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको छ । यसक्रममा मेरै नेतृत्वमा ५ वटा तयारी बैठकहरु सम्पन्न गरी छिमेकी चीनको उहान शहरबाट विद्यार्थीहरुको उद्दार र क्वारेन्टाइनको व्यवस्था गरिएको सबैलाई जानकारी नै छ ।

दोस्रोपटक मृगौला प्रत्यारोपणको लागि अस्पताल जानु अघि मैलै, मेरो अनुपस्थितिमा कार्य गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाई समस्या समाधानको नीतिगत नेतृत्व गर्ने व्यवस्था मिलाएको थिएँ । साथै, मुख्य सचिवको नेतृत्वमा रहेको कार्यान्वयन समिति मार्फत गरिएका निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाएको थिएँ । यिनै संयन्त्र मार्फत सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समेत समन्वय गरी आफ्ना प्रयासहरू एकीकृत ढङ्गबाट अगाडि बढाउँदै आएको छ ।

दिदिबहिनी तथा दाजुभाईहरु,

महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरूरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यस बाहेक अर्को विकल्प पनि छैन । तसर्थः तपाईहरुले भरोसा गर्नु भएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्दछु–
· सरसफाईमा उचित ध्यान दिनुहोस्– साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।

· भीडभाडबाट टाढै रहनु होस्,
· सकेसम्म घरमै बस्नुहोस्,
· अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्,
· हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्,
· चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्,
· धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र
· सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।

संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाईहरुले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन । यसका लागि देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ ।

तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ ।

सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजी सहित सबै प्रकारका सवारी साधनहरू आवश्यकताअनुसार संचालन गर्ने व्यवस्था मिलाइएको छ ।

निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ । तर, अप्ठ्यारो समयको फाईदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता अपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही समेत गरिने स्पष्ट पार्दछु।

newskiran.com

newskiran.com

You May Also Like