३ दिनमै ३ लाखले काठमाडौं छाडे


ट्राफिक प्रहरी महाशाखाले केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । मङ्गलबारदेखि बिहीबारसम्मको तिन दिने आँकडा अनुसार झण्डै तिन लाखले उपत्यका छाडिसकेका छन् ।तिन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडिसके। महाशाखाका अनुसार सरकारले स्कुल कलेज बन्द तथा बढी भिडभाड हुने स्थानमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएसगैँ उपत्यका छाड्नेको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको हो ।

बिहीबार एकैदिन काठमाडौँ उपत्यकाबाट एक लाख ८ हजार ४५८ मानिस विभिन्न नाकाबाट १८ हजार ५५४ वटा सवारी साधनबाट बाहिरिए। बुधबारको तुलनामा बिहीबार भने उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा केही कमी आएको छ । बिहीबार ८३ हजार १३९ मानिससँगै १५ हजार १४० सवारी साधन भित्रिएका छन्। ट्राफिक प्रहरीका अनुसार बुधबार ९५ हजार २४७ जनाले काठमाडौँं छाडे ।त्यस्तै, विभिन्न जिल्लाबाट ९८ हजार ९३४ जना प्रवेश गरेका छन् । मङ्गलबार ९१ हजार ८१६ जनाले काठमाडौँ छाड्दा ९० हजार २३० जना प्रवेश गरेका थिए।

यसअघि काठमाडौं छाड्नेभन्दा काठमाडौँ भित्रिनेको सङ्ख्या बढी हुने गरे पनि पछिल्ला दिन कोरोनाको बढ्दो त्रासका कारण काठमाडौँ छाड्नेको सङ्ख्या बढी देखिएको हो ।
बुधबार बसेको कोभिड–१८ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठ्कले सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम स्विमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलगायत बढी भिडभाड हुने क्षेत्रलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको राससले बताएको छ ।

newskiran.com

newskiran.com

You May Also Like