वैदेशिक रोजगारका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगलसहित युरोपका देशमा पठाउने आश्वासन देखाएर ठगेको आरोपमा यी दुई जना पक्राउ

नेपाल प्रहर‍ीले ठगी कार्यमा संलग्न रहेको आरोपमा एकजना पाकिस्तानी र एकजना अजरबैजानकी नागरिकलाई पक्राउ गरेको छ । पाकिस्तानी र अजरबैजानी नागरिकको साँगगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगलसहित युरोपका देशमा पठाउने आश्वासन दिएर ‘वर्क पर्मिट’लगायतका नक्कली कागजातहरू देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाकिस्तानको राहुलपिन्डी घर भएका ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजानकी ३१ वर्षीया महिला ऐसेल हुसेनिल रहेका छन् । उनीहरूलाई ठमेलको एक होटेलबाट पक्राउ गरिएको हो । अहिले उनीहरू जिल्ला प्रहरी परिसर टेकुमा छन् ।

उनीहरूले प्रोसेसिङ गर्नका लागि एक लाख ३३ हजार लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरूले नक्कली अफर लेटर, वर्कपर्मिट, भिसालगायतका कागजातहरू पठाएर रकम पठाउन लगाउने गरेको पाइएको छ । उनीहरूले करिब ८० लाख रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पीडितहरूलाई विश्वास दिलाउन उनीहरूले अजरबैजान लगेर घुमाइदिने गरेका थिए ।
यो समाचार नुवाकोट एक्सप्रेसमा प्रकाशित छ ।