विश्व वरीयतामा पाँच वर्षदेखि आठ सयदेखि एक हजारभित्रको सूचीमा पर्दै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा भने १२ सयदेखि १५ सयको सूचीमा किन खस्किँदै

टाइम्स हायर एजुकेसनको २०२४ को सर्वेक्षणमा विश्वभरका विश्वविद्यालयमा १ हजारभित्र सूचीकृत हुँदै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा झन् कमजोर अनि खस्कदै गएको पाइएको छ ।
काठमाडौँ — विश्वभरिका विश्वविद्यालयबीचको अध्ययनमा नेपालकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयको अवस्था अहिले झनै खस्केको पाइएको हो।

विश्व वरीयतामा पाँच वर्षदेखि आठ सयदेखि एक हजारभित्रको सूचीमा पर्दै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा भने १२ सयदेखि १५ सयको सूचीमा खस्किएको हो । टाइम्स हायर एजुकेसनले सन् २०२४ का लागि गरेको सर्वेक्षण प्रतिवेदनले विगतमा भन्दा त्रिविको वरीयता कमजोर बनेको देखाएको हो ।

टाइम्सले गत साता उक्त प्रतिवेदन सार्वजनिक गरेको थियो । सन् २०१९ देखि त्रिवि उक्त सर्वेक्षणमा सहभागी हुँदै आएको छ । सोही बेलादेखिकै मूल्यांकनमा त्रिवि विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा परेको थियो । यसपालि भने उत्कृष्ट एक हजारभन्दा पछाडि धकेलिएको हो । विद्यार्थी संख्या, प्राध्यापक, कर्मचारीको विवरण, जग्गाजमिनलगायत भौतिक संरचना, शिक्षण विधि, अनुसन्धान, साइटेसन, विदेशी विद्यार्थी, आर्थिक गतिविधि, अन्तर्राष्ट्रिय छविलगायत विषयमा मापदण्ड तोकेर सर्वेक्षण हुँदै आएको छ । त्रिविका पदाधिकारीले ५ सयभित्र पर्ने लक्ष्य र योजना लिएको घोषणा गर्दै आए पनि नतिजा भने त्यसविपरीत खस्केको पाइएको हो ।

टाइम्समा प्रतिस्पर्धा गर्न त्रिविले विज्ञान तथा प्रविधि संकायका डिन विनिल अर्यालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएर काम गरेको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका प्रमुख विनोद जोशी र योजना महाशाखाका प्रमुख ध्रुव गौतम सदस्य थिए । टाइम्सले सूचना गरेपछि सहभागी हुने विश्वविद्यालयले फाराम भरेर पठाउनुपर्ने व्यवस्था छ । सर्वेक्षणअनुसार त्रिविमा अनुसन्धानको वातावरण सबैभन्दा कमजोर देखिएको छ । जसमा त्रिविले ८.२ स्कोर मात्रै प्राप्त गरेको छ । शैक्षिक वातावरणमा पनि अवस्था कमजोर पाइएको छ । त्रिविले शिक्षण सिकाइमा ११.३, अनुसन्धान गुणस्तरमा ४९.५, उद्योग र उत्पादनमा १५.९ र अन्तर्राष्ट्रिय दृष्टिकोणमा ४६.६ स्कोर पाएको छ । प्राध्यापक अर्यालले टाइम्सको मूल्यांकन मापदण्डमा परिवर्तन भएका कारण त्रिवि पछाडि पर्ने पहिले नै निश्चित भएको प्रतिक्रिया दिए ।

‘अनुसन्धानको साइटेसनले त्रिवि अगाडि पर्दै आएको थियो । यसपालि साइटेसनको अंक ३० प्रतिशतबाट कटौती गरेर १५ मात्रै कायम गरियो,’ अर्यालले भने, ‘विश्वविद्यालयको आम्दानीलाई मुख्य मापदण्ड बनाइयो, त्रिवि त्यसमा कमजोर छ ।’ विगत वर्षमा ३० प्रतिशत अनुसन्धान प्रतिवेदन, ३० प्रतिशत पढाइ लेखाइ, ३० प्रतिशत अनुसन्धान बजेट र १० प्रतिशत अन्तर्राष्ट्रिय प्रभावका आधारमा मूल्यांकन हुने गरेको उनले जनाए । ‘अहिले त्यो मापदण्ड परिवर्तन गरियो । त्रिविसहित भारतका विश्वविद्यालय पनि पछाडि पर्छन् । विकसित मुलुकलाई मात्रै फाइदा पुग्ने खालको मापदण्ड राखिएको छ,’ अर्यालले दाबी गरे । विद्यार्थी मात्रै धेरै भएको तर फ्याकल्टी कम भएको र अनुसन्धानमा प्रशस्त स्रोत नभएकाले त्रिवि हजारभित्र पर्न नसकेको उनले जनाए । ‘मापदण्डका बारेमा विस्तृत रिपोर्ट आइपुगेको त छैन, तर १५ सयभित्रै पर्नु पनि ठूलै कुरा मान्नुपर्छ,’ उनले भने ।

त्रिविमा ४ लाख विद्यार्थी अध्ययनरत छन् । अध्यापकको दरबन्दी भने ३५ प्रतिशतभन्दा बढीले रिक्त रहेको तथ्यांक छ । ९ वटा अध्ययन संस्थान/संकाय र ४ अनुसन्धान केन्द्रका माध्यमबाट अनुसन्धान र अध्ययनका गतिविधि सञ्चालन गरिँदै आएको त्रिविले जनाएको छ । त्रिविले उच्च गुणस्तरको शिक्षा प्रदान गर्न सुधार योजना अघि बढाएकोसमेत टाइम्सले जनाएको छ । शैक्षिक कार्यक्रम, सुशासन र व्यवस्थापनमा सूचना र सञ्चार प्रविधिको एकीकरण, त्यसका लागि जनशक्तिको क्षमता अभिवृद्धि, कार्यक्रम विकास र अनुसन्धानका लागि सरकार र कर्पोरेट जगत्सँग सहकार्य, उपयुक्त सिकाइ सिर्जना गर्न पूर्वाधारको नवीकरण, अन्तर्राष्ट्रियकरणलाई अँगाल्ने र विदेशी विद्यार्थी र फ्याकल्टी आकर्षित गरिने कार्यक्रम त्रिविले अघि सारेको छ ।

विश्वभरका १ सय ६० उच्च शैक्षिक संस्थासँग विश्वविद्यालयको सहकार्य रहेको जनाइएको छ । त्रिविमा विदेशी विद्यार्थी, अभिभावक भने शून्यप्रायः छन् । विश्व भाषा क्याम्पसमा विदेशी विद्यार्थी भर्ना भए पनि भाषा अध्ययनलाई उपाधिको मान्यता नदिँदा मूल्यांकनमा त्यसको गणना नहुने प्राध्यापकहरू बताउँछन् । कोभिडयता त्रिवि समयमा पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत असमर्थ हुँदै आएको छ । उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त भएदेखि विश्वविद्यालय विद्यार्थी, अध्यापक, स्थानीयवासी लगायतको लगातार तालाबन्दीको चपेटामा परेको थियो । ३ वर्षमा ३ सयभन्दा बढी दिन त तालाबन्दी मात्रै भएको थियो । सन् १९५९ मा स्थापित त्रिवि पहिलो र संरचना, विद्यार्थी संख्या, आयस्रोतका आधारमा ठूलो विश्वविद्यालय मानिन्छ ।

अक्सफोर्ड लगातार सर्वोत्कृष्ट

टाइम्सले घोषणा गरेअनुसार बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड सर्वोत्कृष्ट बनेको छ । सन् २०२३ मा पनि अक्सफोर्ड नै पहिलो ठहरिएको थियो । गत वर्ष तेस्रो बनेको अमेरिकाको स्ट्यानफोर्ड भने यसपालि उत्कृष्ट दोस्रोमा दरिएको छ । २०२३ मा दोस्रो बनेको अमेरिकाको हार्वर्ड यसपालि चौथो श्रेणीमा परेको छ । अघिल्लो वर्षको पाँचौं म्यासचुएट्स इन्स्टिच्युट अफ टेक्नोलोजी अमेरिका तेस्रो बनेको छ । गत वर्षको तेस्रो युनिभर्सिटी अफ क्याब्रिज पाँचौंमा पुगेको छ ।

छैटौंमा र सातौंमा अमेरिकाका प्रिन्सटन र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी रहेका छन् । आठौंमा इम्पेरियल कलेज अफ लन्डन, नवौंमा युनिभर्सिटी अफ क्यालिफोर्निया ब्रेकली र दसौंमा एलली युनिभर्सिटी अमेरिका रहेको टाइम्सको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष पनि यिनै विश्वविद्यालय उत्कृष्ट १० भित्र नै परेका थिए । यसपालि यिनको १० औं भित्रको वरीयता मात्र तलमाथि परेको हो ।
यो समाचार ईकान्तिपुरमा प्रकाशित छ ।