महालक्ष्मी नगरपालिका र धनकुटा नगरपालिकसबीच भएको सम्झौता कार्यान्वयन तर्फ उन्मुख

महालक्ष्मी नगरपालिका, ललितपुर र महालक्ष्मी नगरपालिका, धनकुटाबीच भगिनी सम्बन्ध कायम भएको डेढ वर्षपछि समझदारी पत्र कार्यान्वयन सुरु हुन थालेको छ ।

२०७८ साल चैत २३ गते ललितपुरमा भगिनी सम्बन्ध स्थापना गरेका महालक्ष्मी नगरपालिका, ललितपुर र महालक्ष्मी नगरपालिका, धनकुटाले ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । अब समझदारी पत्र कार्यान्वयन तर्फ अघि बढने भएको हो ।
समझदारी कार्यान्वयनका लागि महालक्ष्मी नगरपालिका, ललितपुरका मेयर हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जन नेतृत्वको टोली गएको बिहीबार धनकुटा पुगेका थिए ।

जितपुर अर्खौलेस्थित कार्यपालिका भवनमा भएको कार्यक्रममा महालक्ष्मी नगरपालिका, ललितपुरका मेयर श्रेष्ठले समझदारी कार्यान्वयनका लागि दुवै नगरपालिका अग्रसर भएको बताए । ‘हाम्रो समझदारी पत्रको ११ औं बुँदामा दुवै नगरपालिकाले गरेका असल अभ्यासहरु आदान प्रदान गर्न प्रत्येक आर्थिक वर्ष समाप्त भएपछि वर्षको एकपटक असल अभ्यास आदान प्रदान सम्बन्धी कार्यक्रम दुवै नगरपालिकाको समन्वयनमा आयोजना गर्ने उल्लेख छ,’ उनले भने, ‘यसको कार्यान्वयन आजैबाट सुरु भयो ।’

मेयर श्रेष्ठले दुवै नगरपालिकाको भूगोल, विकासका आवश्यकता फरक भए पनि समृद्धिका लागि साझारुपमा सहयोग आदान प्रदान गर्न सकिने बताए । उनले धार्मिक, साँस्कृतिक पर्यटन प्रवद्र्धन, शिक्षा लगायतका क्षेत्रमा एकापसमा मिलेर काम गर्ने धारणा राखेका थिए ।

मेयर श्रेष्ठले महालक्ष्मी नगरपालिका, धनकुटाबाट उत्पादित कृषिजन्य उत्पादनलाई ललितपुरमा बजारिकरणका लागि आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘ललितपुरको लुभुलाई दोस्रो जापान भनिन्छ, त्यहाँबाट उत्पादित कपडा तेस्रो देश निर्यात हुँदै आएका छन्,’ उनले भने, ‘धनकुटामा पनि लुभुमा उत्पादित कपडाको बजारीकरण गर्न सकिनेछ ।’

महालक्ष्मी नगरपालिका, धनकुटाका मेयर ध्रुवराज रायाले जनसंख्या र बजेटको आकारका कारण महानगरको हैसियतमा पुग्न लागेको महालक्ष्मी नगरपालिका, ललितपुरसँग सहकार्य गर्न पाउनु आफूहरुका लागि सुखद् रहेको बताए । उनले आफ्नो नगर क्षेत्रबाट उत्पादित तरकारी र मासुले बजार पाउन नसक्दा किसानहरु पलायनको अवस्थामा पुगेको बताए । ‘ललितपुरले बजारीकरणमा सहयोग गरेको अवस्थामा यहाँका उत्पादन पठाउन सक्छौं,’ उनले भने ।

महालक्ष्मी नगरपालिका, ललितपुरका उपमेयर लक्ष्मी महर्जनले महालक्ष्मी, धनकुटामा जनसंख्या घट्दो अवस्थामा रहेको सुन्दा आफूलाई दुःख लागेको बताइन् । ‘हाम्रोमा अस्वभाविक जनसंख्या वृद्धि छ, यहाँ घटेको छ,’ उनले भनिन्, ‘यति सुन्दर ठाउँबाट स्थानीयहरु बसाइँ सराइ गर्दै गइरहेका छन् । कम्तिमा उहाँहरुलाई जिल्लामै राख्ने योजना बनाउन जरुरी छ ।’

दुई नगरपालिकाका सम्बन्ध एक दुई कार्यकालमात्र होइन पचासौं वर्षसम्म कायम राख्नुपर्ने महर्जनको भनाइ छ । उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा दुवै नगरपालिकाले सहकार्य गरेर उत्कृष्ट सेवा प्रदान गर्न काम गर्न सकिने बताइन् ।

महालक्ष्मी नगरपालिका, धनकुटाका उपमेयर मञ्जु अधिकारीले दुई पालिकाको नाममात्र होइन मन पनि मिलेका कारण समझदारी पत्रमा हस्ताक्षर भएको बताइन् । उनले कृषि र पशुपालनसँगै आफ्नो नगर क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार तयार गरिरहेको जानकारी दिएकी छन्।

कार्यक्रममा महालक्ष्मी नगरपालिका, धनकुटाका प्रमुख प्रशासकीय अधिकृत निलकण्ठ विश्वकर्माले दुई नगरपालिकाबीचको सहकार्यले नगर समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका, ललितपुरका वडाध्यक्षहरु छिरिङ लामा, ध्रुव खत्री, कपिल केसी, विश्वराज श्रेष्ठ, जयकृष्ण बोगटी, विजय लामा, शिक्षा प्रमुख चिरञ्जीवी पौडेल लगायत नगरपालिकाका उच्च अधिकारी पनि सहभागी रहेका थिए ।

महालक्ष्मी नगरपालिका, धनकुटाबाट सबै वडाध्यक्षहरु, कार्यपालिका सदस्यलगायतको उपस्थिति थियो ।

कार्यक्रममा दुवै नगरपालिकाले मायाको चिनो आदान प्रदान गरेपछि कार्यक्रम सकिएको थियो ।