महरा जेलबाट छुट्नासाथ दिए विज्ञप्ती

संसदकी एक महलिामाथि बलात्कार प्रयास गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ।मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासद्वारा महरालाई सफाइ दिइएको हो।

मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासमा ४ फागुनमा बहस सकिए पनि समय अभाव देखाउँदै मुद्दालाई हेर्दा हेर्दैको सूचीमा राखिएको भएपनि अन्तिम बहसमा महराको तर्फबाट वरिष्ठ अधिवक्ता डा.भिमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, अधिवक्ता डा दिनमणी पोखरेल, अधिवक्ता सुशील सापकोटा र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए ।

महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेको अवस्थामा कसुर गरेको भन्दै थप साढे दुई वर्ष गरी साढे सात वर्ष कैद हुनुपर्ने मागदाबी रहेको थियो।अदालतले सफाई दिएसँगै महरा जेलबाट छुटेका छन्।

जेलबाट छुटेपछि महराले दिएको प्रेस विज्ञप्तिको पूर्णपाठ:

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

अन्ततः ममाथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ । म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यसक्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनैतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु ।

यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु । एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधै थियो, छ र रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र रहिरहनेछ ।

कृष्ण बहादुर महरा प्रतिनिधिसभा सदस्य, दाङ– २
मिति २०७६ फागुन ५ गते

newskiran.com

newskiran.com

You May Also Like