ग्रान्ड कलेजले गर्यो भव्य कविता प्रतियोगिता कार्यक्रम


बढ्दो अंग्रेजी संस्कृतिले नेपाली भाषा, कला र संस्कृतिलाई नै उथलपुथल बनाइरहेका बेला नेपाली साहित्यको माध्यमबाट चेतना अभिवृद्धि गर्ने साहित्यिक हेतुले कुमारी पार्टी स्थित ग्रान्ड एकेडेमीले अन्तर कलेज स्तरीय कविता प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ।आइतबार कलेज प्राङ्गणमा भएको कविता प्रतियोगितामा कलेजका विभिन्न संकायका विद्यार्थीहरुले भाग लिएका थिए।कार्यक्रममा प्राज्ञ एवम् साहित्यकार ललिजन रावल प्रमुख अतिथि,निर्णायकद्वय वेद बहादुर कुवँर र विश्वराज खनाल रहेका थिए।बिहान नौबजे सुरु भएको कार्यक्रम झन्डै साँढे दशबजे सम्म चलेको थियो।

कार्यक्रममा विभिन्न शीर्षकका प्रतियोगीहरुले कविता वाचन प्रस्तुति दिएका थिए।जसमा मेरो देश शीर्षकको कविता दिपा देवकोटाले वाचन गरेकी थिइन्।विकासमा जुट्नुपर्छ शीर्षकको कविता लक्ष्मी मगरले वाचन गरिन् भने मेरो आमा शीर्षकको कविता दिया महर्जनले सुनाइन्। जीवन यात्रा शीर्षकको कविता आर्या प्याकुरेलले वाचन गरेकी थिइन्।त्यसैगरी अमर शीर्षकको कविता अस्मिता श्रेष्ठ र मेरो देश नेपाल कविता मनिता खुम्बू राईले वाचन गरेकी थिइन्। मेरो देश मेरो चाहना शीर्षकको कवितामा युगसन राईले राष्ट्र भक्तिको भाव देखाएका थिए
मेरो नारीत्व शीर्षकको कविता वाचन गर्दै शुभेच्छा थापाले कलेजका नारीहरुलाई सचेत गरेकी थिइन्।मेरो साथी शीर्षकको कविता प्रविन काउछा मगरले सुनाए भने मेरी आमा शीर्षकको कविता सारा महर्जनले वाचन गरिन्। राष्ट्रको विडम्बना शीर्षकको कवितालाई विजय आले मगरले प्यारोडी गीत पारामा वाचन गरे भने स्वर्गमा के छ र शीर्षकको कविता रश्मी कुमारी महतोले सुनाएकी थिइन्।

कस्तो जमाना शीर्षकको कविता सुनाएर विपना शर्माले एक छिन् दर्शकहरुलाई ताली पिटाएकी थिइन्।त्यसैगरी नारी शीर्षकको कविता सुवास लामाले सुनाएर सबैलाई मख्ख पारेका थिए भने नेपाल कविता मार्फत आशा थापाले राष्ट्रियता भाव झल्काएकी थिइन्। खुशी छ मेरो जीवन कविता कीर्ति परियारले वाचन गरेपछि सफलता शीर्षकको कविता ईन्द्रा शर्माले र आमा कविता दिपिका खड्काले वाचन गरेकी थिइन्।त्यस्तै कानुन शीर्षकको कविता अनिका सिंह ठकुरीले वाचन गरेर वर्तमान कानुनको दृश्य भाव उतारेकी थिइन्।

मेरो अदृश्य कथा शीर्षकको कविता कक्षा एघारकी नितु तामाङले सुनाउँदा राष्ट्र कतै अदृश्य शक्तिमार्फत चलेको त होइन् जस्तो देखिन्थ्यो।त्यही भएर होला वर्तमान राजनीतिमा देखापरेको समस्या भाव कवितामा प्रष्टै सुभाषित हुन्थ्यो र नीतु तामाङको कविताले प्रथम स्थान हासिल गरेको थियो ।त्यसो त वर्तमान नारी अस्मिता र पीडाको द्वन्द्ध उतारिएको नारी शीर्षकको कविता मार्फत सुवास लामाले द्वितीय स्थान पाउनु कुनै नौलो विषय बनेन।साच्चै नै स्वर्ग के हो र यो कहाँ छ भन्ने विषयबस्तु उठान गरिएको स्वर्गमा के छ र शीर्षकको कविता वाचन गरेर रश्मी कुमारी महतोले तृतीय स्थान प्राप्त गर्न सफल भइन्।

निर्णायक मन्डलको भूमिकामा वेद बहादुर कुवँर र विश्वराज खनाल थिए।कार्यक्रमको प्रमुख आतिथ्यता प्राज्ञ ललिजन रावलले गरेका थिए।ग्रान्ड कलेजका प्राचार्य राजेन्द्र प्रसाद उप्रेतीको सभापतित्वमा भएको सो कार्यक्रमलाई कलेजकै कोर्डिनेटर खेम लिम्बूले उदघोषण गरेका थिए।




newskiran.com

newskiran.com

You May Also Like