आफ्ना कर्मचारी धेरै कामका कारण थाकेको भन्दै नगरपालिका क्षेत्रभित्रका सबै सरकारी र गैरसरकारी कार्यालयमा बिदा दिने निर्णय

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आफ्ना कर्मचारी धेरै कामका कारण थाकेको भन्दै नगरपालिका क्षेत्रभित्रका सबै सरकारी र गैरसरकारी कार्यालयमा आज बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाकाको लेटरहेडमा बेनामे हस्ताक्षरमा पालिकाको वेभसाइटमार्फत सार्वजनिक गरिएको सूचनामा संविधान दिवसका दिन पालिकाको नयाँ प्रशासनिक भवन उद्घाटनका क्रममा खटिनुपर्दा कर्मचारी गलेको भन्दै आज अर्थात ४ असोजमा सार्वजनिक बिदा हुने उल्लेख छ ।

नगरपालिकाले गत ३१ भदौ देखिनै नगरपालिकाका सबै सेवा बन्द गरेर पुरानो भवनबाट नयाँ भवनमा सामान सार्ने काम गरेको नगरका कर्मचारीहरु बताउँछन् ।

सामान सार्ने धपेडीका कारण कर्मचारी गलेर नगरपालिकाका कर्मचारीलाई एक दिन बिदा दिएपनि विद्यालयदेखि सवै सरकारी र गैरसरकारी कार्यालयमा किन बिदा दिनुपरेको भन्ने विषयमा भने नगरपालिका मौन छ ।

नगरपालिकाका एक कर्मचारीले भने केही कर्मचारीको दवावमा पालिकाभर बिदा दिने निर्णय भएको बताए ।

सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय शिक्षा विधेयकका विरुद्ध विद्यालय बन्द गरेर आन्दोलनमै छन् भने नगरपालिकाको यो निर्णयका कारण पालिकाभित्र भएका सवै सरकारी कार्यालय, बैक तथा बित्तीय संस्था र गैरसरकारी कार्यालयहरु बिदा हुनेछन् ।
यो समाचार वडापालिकामा प्रकाशित छ।