अनुसन्धानमा खटिएका कुकुर सेवा निवृत्त

गत मंसिर २५ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेमा २८ वर्षीया महिलालाई घरमा हत्या गरेर बारीमा गाडेको अवस्थामा सेरे र जोनले अपराधी पत्ता लगाएका थिए। यसैगरी गत चैतमा रामेछाप गोकुलगंगा गापा-४ बेताली लेसेखानी(लिसेखानी)मा खुकुरी प्रहारबाट ८२ वर्षीय शमशेर बहादुरको हत्या भएको थियो । उक्त घटनाको अपराधी पत्ता लगाउन यिनै कुकुरले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

वाग्मती प्रदेशअन्तर्गत जिल्लाहरूमा भएका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अनुसन्धान गर्नमा कुकुरहरूको उत्कृष्ट भूमिका रहेको एसपी रेग्मीले बताए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सेवानिवृत्त तीन कुकुरलाई संगठनबाट प्राप्त हुने रासन कट्टी हुने छ । प्रहरी सेवामा रहेका कुकुरले दैनिक रासन १ सय ५० रुपैयाँ बराबरको ‘डग फुड’ पाउने गर्छन्। अवकाशप्राप्त यी तीन कुकुर उमेरले ९ वर्षका मात्र भए । सामान्यतया कुकुरको उमेर १५ वर्षको हुने गर्छ । यी कुकुरलाई जन्मेको ६ महिनामा तालिम दिने गरिन्छ । तालिम अवधि चार महिनादेखि १० महिनासम्मको हुन्छ ।

‘क्षमताको आधारमा तालिमको समय तोकिन्छ,’ प्रहरी प्रवक्तासमेत रहेका एसपी रेग्मीले भने, ‘तालिम प्राप्त गरी प्रहरी सेवामा रहेका कुकुरहरुलाई करिब ९ वर्ष पुगेपछि उसले गर्ने कामको टेक्निकल टिमले पहिचान गर्छन् । उसले प्राक्टिकलमा कति नम्बर ल्याउँछ भनेर रिपोर्ट र नम्बरिङ गर्छ । अलि टाढा पुग्न नसकेमा, सुँघ्न नसकेमा फेल हुन्छन् र सेवाबाट हटाइन्छ ।’

सेवानिवृत्त कुकुरहरूले प्रहरीका लागि काम गर्न नसके पनि दुई-चारवर्ष घरमा गार्डको काम गर्न सक्ने उनको भनाइ छ । ती कुकुरहरूलाई कसैले माग गर्न र निवेदन दिन आएमा भरपाई गरेर लैजान सकिने छ । यदि कसैले नलगेमा भने उसले पाउनुपर्ने रासन खुवाएर प्रहरी कार्यालयमा नै राख्ने गरिन्छ । प्रहरी सेवाबाट अवकाशप्राप्त कुकुरलाई इच्छाअनुसार क्रमशः सम्बन्धित दाता, बहालवाला प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र सर्वसाधारणलाई प्राथमिकताका आधार दिन सकिने पनि नियम छ । कुनै पनि कार्यालय वा व्यक्तिले स्वीकार गर्न नचाहेमा त्यस्ता कुकुर जीवित भएसम्म रासन, आवास र औषधोपचारको व्यवस्था सम्बन्धित प्रहरी कार्यालयले नै गर्नुपर्ने व्यवस्था छ ।

वाग्मती प्रदेश प्रहरीमातहत अहिले ६ वटा कुकुर छन् । तीमध्ये ४ वटा प्रहरी सेवाका कार्यरत छन् भने २ वटाले तालिम लिइरहेका छन् । सेवानिवृत्त भएका र कार्यरत कुकुर काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयबाट ल्याइएको हो ।
-साभार इकान्तिपुर