ह्रदयघातबाट पूर्व सभामुख सुवास नेम्वाङको देहावसान

काठमाडौं । पूर्व सभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज निधन (देहवसान)भएको छ ।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेसँगै नेम्वाङको निधन भएको हो ।

पूर्वसभामुख रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

इलामबजारको सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालेखि नै कम्युनिस्ट राजनीतिमा थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल पनि परेका थिए ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बने ।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए । जनआन्दोलन २०६२–६३ सँगै पुनर्स्थापित संसदका उनी सभामुख थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष बने। चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत हुन्थे । उनलाई मृत्युको खबरसँगै केपी ओली महाराज गञ्ज अस्पताल पुगेका थिए ।