सरु गुरागाईंको घाँटीको क्यान्सरको शल्यक्रिया सफल

काठमाडाैँ । मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईंको घाँटीको क्यान्सरको शल्यक्रिया सफल भएको छ ।

श्रीमान् मुरारी गुरागाईंले फेसबुकमार्फत सरूको घाँटी वरिपरी र थाईरोईडमा भएको क्यान्सरको टिस्युहरू शल्यक्रिया मार्फत झिकिएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घाँटीमा लगभग एक बित्ता लामो चोट छ जहाँबाट त्यहाँ भएका लिम्फ नोडहरू सहित ट्यूमर निकालिएको थियो र घाउ ठूलो भएकोले निको हुन केहि समय लाग्नेछ। “पहिलेभन्दा धेरै सहज भैसकेको छ। खान बोल्न सामान्यतया समस्या छैन। बाँकी उपचार के कस्तो हुन्छ यो सबै आउने दिनमा थाहा हुनेछ”, उहाँले भन्नुभएको छ । संसारभरबाट सरूको स्वास्थ्यलाभको लागि व्यक्त गर्नुभएको शुभकामना र प्रार्थनाले हामीलाई यो कठिन परिस्थितिबाट निस्कने शक्ति प्रदान गरेको छ उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “प्रार्थनामा शक्ति हुन्छ ।

“यहाँहरूले हामीलाई यति धेरै ऋण लगाउनुभयो कि हामी यो जुनीमा त तिर्न सक्दैनौँ होला तर तिर्ने कोशिस गरिरहनेछौँ। सबभन्दा धेरै त भावनात्मक सहयोगको ऋणी छौँ।” यो असहज परिस्थितिलाई थोरै सहयोग हुन्छ कि भनेर सञ्चालन गरेको गोफन्डमीमा सोचेभन्दा धेरै शुभचिन्तकले दिनुभएको आशीर्वादले पक्कै पनि सहज बनाउनेछ भन्दै श्रीमान् मुरारीले गोफन्डमी अबको केही समय पछि बन्द गर्ने जानकारी गराउनुभएको छ ।यो समाचार चक्रपथ डटकममा प्रकाशित छ ।