स्थानीय तहमा आर्थिक अनुदान कटौती गर्ने

सङ्घीय सरकारले आर्थिक अनुशासनमा नबस्ने स्थानीय तहको आगामी आर्थिक वर्षबाट आर्थिक अनुदान कटौती गर्ने तयारी गर्दै छ।

आर्थिक अनुशासनमा नबस्ने, अहिलेसम्म गाउँ र नगरसभा नगर्ने तथा लेखा परीक्षण नगराउने एवं दरबन्दी भएर पनि समायोजन गरी पठाएका कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको अनुदानको रकम कटौती हुन लागेको बताइएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिलेसम्म पनि दुई दर्जन स्थानीय तहले गाउँ र नगरसभा गरेका छैनन् ।यस्ता ठाउँमा आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले प्रदान गर्ने अनुदानमा कटौती गर्ने छ । सङ्घीय सरकारले स्थानीय तहमा पठाएका दुई सय कर्मचारीलाई हाजिर नगराई मन्त्रालयमै फिर्ता पठाएका थिए ।

मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले कानुनी दायरामा नबस्ने स्थानीय तहलाई सङ्घीय सरकारले प्रदान गर्ने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गर्ने तयारी भइरहेको छ । सङ्घीय सरकारले स्थानीय तहलाई बाँध्ने आधार भनेकै अनुदान कटौती हो, अब आर्थिक अनुशासनमा नबस्ने स्थानीय तहलाई सरकारले अनुदान कटौती गर्ने रणनीति लिदै छ उनले भने।

मन्त्रालयले कानुन सम्मत काम नगर्ने स्थानीय तहको सूची तयार गरेर अनुदान कटौती गर्न अर्थ मन्त्रालय एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग कुरा अघि नढाएको छ । आर्थिक अनुशासनमा नबस्ने स्थानीय तहको अनुदान कटौती गर्न अर्थ मन्त्रालय र वित्त आयोग पनि सहमत भइ सकेका छन् ।

सरकारले अहिले स्थानीय तहलाई जनसङ्ख्या, क्षेत्रफल, मानव विकास सूचकाङ्क, खर्चको आवश्यकता, राजस्व सङ्कलनमा गरेको प्रयास, पूर्वाधार विकास र विशेष अवस्था शीर्षकमा अनुदान रकम प्रदान गर्दै आएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जानकारी गराएको छ ।

सङ्घीय सरकारले स्थानीय तहलाई न्यूनतम १३ देखि ८० करोड रुपियाँसम्म सीधै बजेट उपलब्ध गराउँदै आएको छ । सरकारले चालू आर्थिक वर्षमा ७५३ वटै स्थानीय तहलाई एकमुष्ट रूपमा ८९ अर्ब ९५ करोड रुपियाँ सम्मानीकरण शीर्षकमा अनुदान प्रदान समेत गरिसकेको छ । कानुनी दायरामा नबस्ने स्थानीय तहलाई कति अनुदान रकम कटौती गर्ने भन्ने स्पष्ट चाहिँ अझै भएको छैन ।

सहसचिव अधिकारीले स्थानीय तहका पदाधिकारीको जबर्जस्ती र मनपरी कार्यशैलीका कारण जनताले दुःख पाएकाले ती स्थानीय तहलाई सङ्घीय सरकारले अङ्कुश लगाउन अनुदान कटौती गर्न लागेको बताए ।

newskiran.com

newskiran.com

You May Also Like