मौलिक संस्कृतिको रूपमा मगर समुदायले माघे सकराती,चैते दशैं,मंसीरे पुर्ने, भूम्यापूजा, वैशाख पूर्णिमा, साउने सकराती आदि चाडपर्व मनाउने गर्दछन् भने भाषिक रूपले मगरले बाह्र मगरात (मगर ढुट), अठार मगरात (मगर खाम/पाङ) र मगर काइके भाषा बोल्ने गर्दछन्।जातिभित्रका वर्ण रुपहरु हेर्दा आले,थापा र राना भित्र चार चार बर्ण गरेर बाह्र वर्ण अनि तिनीहरुका उपवर्णका रुपमा रहेको थर कसैको एकसय सोह्र कसैको एकसय उन्नाइस र एकसय छत्तीस गरी करीब
३६६ थरका मगर रहेको मगर जानकारहरु बताउँछन्।
मौलिक कला–संस्कृतिका हिसाबले मगरमा सोरठी,ख्याली, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन् । माघे सकराती चाड विशेषतः चेली तिहारकोे रूपमा मनाइन्छ । नयाँ यामको सुरुवात आजकै दिनदेखि उभौली सुरु भई साउने सकरातीमा समापन भई सोही दिनदेखि उधौली सुरु हुने प्रचलन छ ।
यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूल र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मूलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् ।
आजका दिन छोरीचेलीलाई माइतीका तर्फबाट दाजुभाइले पूजा गर्छन् ।पश्चिमतिर चामलको सेतो टीका र जौको फूल लगाई दक्षिणा अनि आशिर्वाद पनि दिने प्रचलन छ ।तर,पूर्वेली मगरहरुले भने रातो टिका नै लगाउँछन्।
छोरीचेलीलाई वन तरुल गिठ्ठा, भ्याकुर, पिडालु, घरतरुल, रोटीसहितको परिकार मिसिएको ‘मिस्रा’ दिने गरिन्छ ।
घरमा आएका चेलीलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भनेको तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचडी, घिउ मिश्रित परिकार हो ।
यस चाडमा मौलिकरूपले भैलो खेल्ने, पुतली नाच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने आदि गरिन्छ ।
सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आवाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेँसीबाट लेकतिर बसाइँ सर्ने गरिन्छ ।