नेपाली भाषा कसरी शुद्ध लेख्न सकिन्छ त ? शुद्धताको लागि विभिन्न सहयोगी टुल्सहरु भित्रिदै

हिजोआज हामी शुद्ध नेपाली लेख्न खोज्छौँ तर सक्दैनौ कतै न कतैबाट चुकिहाल्छौँ । त्यसो त अहिले सामान्य सूचना होस वा निवेदन, सिफारिस पत्र होस वा कुनै डकुमेन्ट नै तयार गर्दा किन नहोस नेपाली भाषा र शैली अनि शुद्धता पहिचान गर्न नसकेर नेपाली गुरु वा पत्रकार खोज्न पुग्छौँ । त्यसैले
पनि अहिले सिधैं मोबाइल वा कम्प्युटरको सहायताले विभिन्न टुल र वेबसाइटको बारेमा बुझेर आफै शुद्धता खोज्न पुग्छौँ ।
बजारमा सार्वजनिक भएको विभिन्न टुल्सहरु:

सायकले उपलब्ध गराएकाे ‘हिज्जे’ वेबसाइट

नेपाली शब्दकोश, फन्ट रूपान्तरण, फन्ट टाइपिङ, रोमन टाइपिङ सहित हिज्जे परीक्षणका लागि सायक कम्पनीले हिज्जे डटकम उपलब्ध गराएको छ । यो निःशुल्क उपलब्ध हुने यस्तो प्लेटफर्म हो, जसले लामो अनुच्छेदमा रहेका अशुद्ध शब्दहरूलाई पहिचान गर्छ र शुद्ध शब्द सिफारिस गर्छ ।

नेपाली शब्दका साथै नेपालीमा लेखिने अधिकांश अङ्ग्रेजी शब्दको शुद्ध स्वरूप पनि यसले सुझाव दिन्छ । ​त्यसैगरी यही प्लेटफर्ममै शब्द टाइप गर्ने र हिज्जे परीक्षण गर्न सकिने सुविधा छन् । यदि तपाईंले हिज्जे डटकममा शब्दको शुद्धाशुद्धि परीक्षण गर्नुभयो भने त्यसलाई डक फाइलमा डाउनलोड गर्न सकिन्छ । यति सुविधाका बाबजुद पनि यो प्लेटफर्मका केही असुविधाहरू छन् ।

यदि तपाईंले ३०० सयभन्दा बढी शब्दको हिज्जे परीक्षण गर्न खोज्नुभयो भने अशुद्ध सबै शब्दहरू पहिचान हुँदैनन् । यद्यपि कम्पनीले शब्द सीमितता नभएको दाबी गर्दै आएको छ । त्यस्तै गुगल डक्समा लेखिएका शब्दहरू हिज्जेमा पेस्ट गर्दा पनि बोल्ड (बाक्लो अक्षर) देखिन्छन् । शब्दहरू बोल्ड हुँदा एउटा पनि अशुद्ध शब्द पहिचान हुँदैनन् ।

हिज्जे डटकममा लेखको शुद्धाशुद्धि परीक्षण गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

नयाँ यात्रा प्रालिको ‘पेपर’ प्लेटफर्म

हिज्जे जस्तै तर केही फरक विशेषता भएको अर्को प्लेटफर्म हो, पेपर । नयाँ यात्रा प्रालिले तयार पारेको यो प्लेटफर्म नेपाली भाषा परीक्षण गर्नका लागि उपयुक्त छ । कम्पनीले यसलाई बेटा संस्करण अन्तर्गत सञ्चालन गरिरहेको छ ।

बेटा संस्करणमै भएकाले कम्पनीले यो प्लेटफर्म त्यति प्रचार गरेको छैन । यद्यपि नेपाली भाषाको मात्र शुद्धाशुद्धि परीक्षण गर्न यो भरपर्दो प्लेटफर्म हुन्छ । नयाँ यात्रा प्रालिले नेपाली प्रज्ञा नेपाली वृहत् शब्दकोशको मोबाइल एप्लिकेसन पनि तयार पारेको हो । आधिकारिक रूपमा विज्ञहरूको संलग्नताका साथ तयार पारिएको प्लेटफर्म भएकाले यसमा भर पर्न सकिन्छ ।

ब्याकलिङ्क गरिएका शब्द, डक्स वा वर्ड फाइलबाट जस्तोसुकै फर्म्याटमा कपी गरिएका शब्द यसमा सहजै परीक्षण गर्न सकिन्छ । शब्द पेस्ट गर्दा शब्दहरूको स्टाइल वा फर्म्याटमा कुनै असर नपर्ने कम्पनीले दाबी गरेको छ । यसमा आकर्षक फिचर त के छ भने तपाईंले ले, लाई, बाट जस्ता विभक्तिभन्दा अगाडि आउने शब्द अशुद्ध छ भने अगाडिको शब्द मात्र गलत छ भनेर सङ्केत दिन्छ । सो शब्दमा क्लिक वा ट्याप गरियो भने शुद्ध शब्द सिफारिस गर्छ ।

हिज्जे डटकममा (हीक्मत) परीक्षण गर्न लागियो भने अगाडि र पछाडिको कोष्ठक हट्छन् । तर, पेपरमा बीचको नाम मात्र अशुद्ध देखाउँछ । त्यसमा सिफारिस गरिएको शुद्ध शब्द छानियो भने अगाडि र पछाडिको कोष्ठक यथावत् रहन्छन् ।

यो प्लेटफर्मले प्रायः शब्दहरू अशुद्ध भएको भन्दै शुद्ध शब्द सुझावका रूपमा देखाउँछ । यस्तो हुँदा प्रुफ रिडिङ गर्न वा आफूले लेखेका शब्द सबै शुद्ध छन् भन्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

टेकपानासँग कुरा गर्दै नयाँ प्रालिका सीईओ तथा संस्थापक शिरीष पाण्डेले भने, “हाम्रो प्लेटफर्मले गलत शब्दलाई मात्र पहिचान गर्नेभन्दा पनि शतप्रतिशत शुद्धबाहेक अन्य शब्दहरू अशुद्ध भएको सङ्केत दिन्छ । त्यसैले प्रायः शब्दहरूको मुनि रातो डिको (अन्डरलाइन) दिइएको हुन्छ ।”

यस प्लेटफर्ममा अन्य अनावश्यक फिचरहरू राखिएका छैनन् । प्रयोगकर्ताले सहजै प्रयोग गर्न सघाउनका लागि वेबसाइट साधारण बनाएको पाण्डेले बताए ।

नयाँ यात्रा प्रालिले तयार पारेको पेपर प्लेटफर्म प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।

नेपाली भाषा स्रोत केन्द्रको हिज्जे परीक्षण गर्ने प्लेटफर्म

नेपाली भाषा स्रोत केन्द्रले तयार पारेको हिज्जे परीक्षण गर्ने प्लेटफर्म पनि तपाईंका लागि उपयुक्त हुन सक्छ । यो प्लेटफर्मले निःशुल्क र सशुल्क दुवै किसिमका सेवा उपलब्ध गराउँछ । निःशुल्क उपलब्ध हुने सेवा अन्तर्गत प्रयोगकर्ताले एक पटककमा १० हजार क्यारेक्टर (अक्षर) परीक्षण गर्न पाउँछन् ।

त्यस्तै मासिक पाँच सय ९९ रुपैयाँ तिर्ने प्रयोगकर्ताले एक पटकमा ४० हजार क्यारेक्टर परीक्षण गर्न, व्यक्तिगत शब्दकोश प्रयोग गर्न पाउने, अटोकरेक्ट सेवा र प्रिमियम ईमेल सपोर्ट पाउने कम्पनीले जनाएको छ । त्यसैगरी मासिक पाँच हजार ९९९ रुपैयाँ तिर्दा पाँच जनाका लागि लाइसेन्स पाइन्छ ।

यो सब्स्क्रिप्सन लिने प्रयोगकर्ताले एक पटकमा ४० हजार क्यारेक्टर परीक्षण गर्न, व्यक्तिगत शब्दकोश प्रयोग गर्न, अटो करेक्ट सुविधा पाउन, प्रिमियम ईमेल सपोर्ट पाउने, आफ्नै स्टाइट गाइड राख्न पाउने, एड्मिन ड्याशबोर्ड प्रयोग गर्न पाउने र एपीआई एक्सेस पाउनेछन् ।

यो प्लेटफर्म निःशुल्क प्रयोग गर्नका लागि सबैभन्दा पहिले आफ्नो अकाउन्ट बनाउनुपर्ने हुन्छ । गुगल अकाउन्टमार्फत लगइन गरिसकेपछि फ्रि प्लान छानेर यो टुल प्रयोग गर्न सकिन्छ । कम्प्युटरको ब्राउजरमा यो वेबपेज खोलेर बक्समा शब्दहरू पेस्ट गर्‍यो भने छेउमा अशुद्ध शब्दको शुद्ध स्वरूप सिफारिस गरिएको हुन्छ ।

यदि तपाईंको स्टाइलबुक फरक छ (कतिपय संस्थाले अर्कै शब्द भए पनि आफूलाई मिल्ने शब्द प्रयोग गर्ने गरेका हुन्छन् । विशेषगरी काठमाडौँ/काठमाण्डौं/काठमाडौं मानिसहरूले फरक फरक तरिकाले लेख्ने गर्छन् ।) भने आफ्नो शब्द ‘एड टु डिस्नेरी’मा क्लिक गरेर राखेपछि अर्को पटक सो शब्द अशुद्ध छ भनेर सुझाव दिंदैन । त्यस्तै यो टुलको एक्सटेन्सन वर्ड, डक्ट आदिमा प्रयोग गर्न सकिन्छ ।

यदि तपाईंले आफ्नो लेखमा ब्याकलिङ्क राख्नु भएको छ वा शब्दलाई विभिन्न फर्म्याट र स्टाइलमा राख्नु भएको छ भने यो प्लेटफर्ममा पेस्ट गर्दा सबै फर्म्याट र ब्याकलिङ्क हट्छ । यो प्लेटफर्म प्रयोग गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

नेपाली वृहत् शब्दकोश

नेपाल प्रज्ञा प्रतिष्ठानले २०४० सालमा पहिलो पटक प्रकाशन गरेयता यो शब्दकोश पटक-पटक संशोधन, परिमार्जन र पुनर्मुद्रण हुँदै आएको छ ।

यो एप हालसम्म ६० हजारभन्दा बढी प्रतिहरू बिक्री वितरण भइसकेका शब्दकोशको डिजिटल स्वरूप हो । सूचना र प्रविधिको तीव्र विकास क्रमसँगै अघि बढ्न र विश्वका विभिन्न ठाउँमा रहेका नेपालीको मागलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तकका रूपमा रहेको शब्दकोशलाई मोबाइल एपमा ल्याएको हो ।

नेपाली भाषा क्षेत्रका विभिन्न विज्ञको सहभागिता समेत रहेकाले यसलाई सबैभन्दा भरपर्दो र विश्वसनीय शब्दकोश मान्न सकिन्छ । पुस्तकमा भएका कमी कमजोरी सच्याउन अर्को संस्करण नै ल्याउन पर्छ भने एप केवल एक अपडेटमा नै परिमार्जित हुनसक्छ । त्यसैले पनि आजका मितिमा एपको धेरै महत्त्व भएकाले प्रतिष्ठानले यस एपलाई डिजिटल रूपमा ल्याउने निर्णय लिएको थियो ।

त्यस्तै हामीले एपको विकल्पमा शब्दकोशको पीडीएफ फाइल डाउनलोड गर्न सक्छौँ ।

सबैभन्दा पहिले तपाईंले प्ले स्टोर अथवा एप स्टोरमा गई ‘नेपाली वृहत् शब्दकोश डाउनलोड गर्नुपर्छ । एन्ड्रोइड प्रयाेगकर्ताले एप डाउनलाेड गर्न यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् । एन्ड्रोइड र आईओएस भर्सनमा समान इन्टरफेस भएकाले कुनै एकबारे जानियो भने दुवै डिभाइसमा सहजै एप प्रयोग गर्न सकिन्छ ।

नयाँ शब्द थाहा पाउन, शब्दको अर्थ थाहा पाउन र शुद्ध शब्दहरू पहिचान गर्नका लागि पनि नेपाली वृहत् शब्दकोशको प्रयोग गर्न सकिन्छ । प्रतिष्ठानले शब्दकोशको पीडीएफ संस्करण पनि इन्टरनेटमा उपलब्ध गराएको छ । यहाँ क्लिक गरी १३५६ पृष्ठको वृहत् शब्दकोशका पहुँच पाउन सक्नुहुन्छ ।

इन्टरनेटमा अन्य केही हिज्जे परीक्षण गर्ने प्लेटफर्म पनि छन् । तपाईंले आफ्नो आवश्यकता र सहजताका आधारमा माथि उल्लेख गरिएका प्लेटफर्म प्रयोग गर्न सक्नुहुन्छ ।