छात्रवृत्तिमा नाम सिफारिस भएकाले कुनै शुल्क तिर्न नपर्ने

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा यस शैक्षिकसत्रका लागि अध्ययन छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने भनेको छ । आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शिक्षालयले शुल्क लिएको तथा स्थान अभावका कारण देखाएर भर्ना लिन आनाकानी गरेको गुनासोका सन्दर्भमा महानगरपालिकाको शिक्षा विभागले सुनुवाइ र सम्बोधन समेत गरेको हो ।
विभागले यही भदौ १ गते पत्र पठाइ कक्षा ११ र १२ सञ्चालन गरिरहेका निजी (संस्थागत) विद्यालयका सञ्चालनकलाई बोलाइ कुनै छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा, शुल्क लिएमा वा मानसिक यातना दिएमा कारबाही गर्ने भनेको हो ।
सम्बन्धित गुनासो सम्बोधन भएको र अझै बाँकि रहेमा महानगरपालिकामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले गत साउन २० गते छात्रवृत्ति परीक्षामा सम्मिलित भई म्याचिङ प्रणालीबाट अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई यही भदौ ३ गतेसम्म सम्बन्धित शिक्षण संस्थामा भर्ना गरी जानकारी गराउन पनि पत्राचार गरेको थियो ।