खाँडादेवी तीन कन्या हुन भन्ने जनश्रुति

तीन कन्या खाँडादेवी हुन् भन्ने जनश्रुति छ । त्यसैले यी देवीलाई खाँडादेवी महारानी भनेर पुकारिन्छ ।
अहिले पनि दसैँका बेला छानो स्वरूप मन्दिरमा तीतेपाती चढाइने गरिन्छ । पहरी जातिले अहिले पनि खाँडादेवीलाई आफ्नो चेलीको रूपमा पूजा गर्दछन् ।

गेलुका पहरी अहिले पनि बडादशैैंको फूलपातीका दिन खाँडादेवीलाई केरा, उखु, अदुवाको बोट, माछा, छोकडा, जिर्मा, छ्याङ, राँगा, बोका, कुखुरा, हाँस, परेवा तथा कुमारीको सामग्रीहरू ऐना चुरा, धागो, सिन्दूर, टिका चढाउने गर्दछन् । पहिला खाँडादेवी मन्दिरमा नै आएर पूजा गर्ने पहरीले अहिले गेलुमा नै खाँडादेवीको मन्दिर स्थापना गरी पूजा गर्ने गरेका छन् ।

गेलुका लालबहादुर पहरीले खाँडादेवीमा विक्रम संवत् १९९१ मा नियमित पूजा व्यवस्थापनको माग राख्दै तत्कालीन सरकारसँग विन्तीपत्र हालेको लेखोट पाइन्छ । मन्दिर नजिकैका तामाङहरूले पूजा गर्ने र संकलित भेटी बाँडेर लिने गर्दै आएकोमा स्थानीय पुजारी शेरबहादुर तामाङको सक्रियतामा खाँडादेवी विकास कोष बनेपछि कोषले संकलित भेटीको रेकर्ड राख्नुको साथै पुजारी व्यवस्थापनको काम गर्दै आएको छ । कोषकै पहलमा पुरातत्त्व विभागले नयाँ मन्दिर निर्माण गर्नुका साथै विभिन्न नयाँ संरचना निर्माण भएका छन् ।

खाँडादेवीको आसपासमा तीन देवीहरू रहेका छन्। सिद्धदेवी, सिद्धकाली र सिरदेवी । खाँडादेवीको केही तल दुर्गा नदीको रूपमा पुजिने कुण्ड छ । जहाँको जलले दिनहुँ खाँडादेवीलाई नुहाउने गरिन्छ ।