राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको रामेछाप शाखा गठन

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको रामेछाप शाखा गठन गरिएको छ । शनिवार एनएफपिजे नेपालको वागमती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठ आतिथ्यतामा भएको प्रथम जिल्ला भेलाले मिलन घिमिरेलाई अध्यक्ष चयन गर्दै ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा शर्मिला विसुन्खे, सचिवमा राजन महतारा, कोषाध्यक्षमा डोर शंकर बरुवाल र सहसचिवमा राजकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा प्रशान्त हायू, आरती अछमी, सृजना रोक्का, सृजना रसाइली, प्रविन बयलकोटी र विनीता बुढाथोकी चयन भएका छन् ।

प्रमुख अतिथि समेत रहेका मन्थली नगरका प्रमुख लव श्रेष्ठले नगरभित्रका बाहिर आउन नसकेका पर्यटकीय र महत्पूर्ण कुराहरू फोटो पत्रकारले ल्याउनु पर्नेमा जोड् दिँदै पत्रकारितामा सत्य र तथ्य आवश्यक रहेको धारणा राखे । नगर प्रमुख श्रेष्ठले स्थानीय सरकारले गरेका कामलाई राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो स्पष्ट भनिदिनु पर्ने भन्दै फोटो पत्रकारले नगरको पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा टेवा पुर्‍याउन सक्नु पर्नेमा जोड दिए ।

कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै रामेछापमा फोटो पत्रकारिताको क्षेत्रमा उत्कृष्ट कार्यहरू गरेर देखाउन निर्देशन दिए । उनले रामेछाप जिल्लामा धेरै पर्यटकीय क्षेत्रहरू रहेको र त्यसलाई फोटोको माध्यमबाट प्रचारप्रसार गर्न त्यसका लागि यहाँका स्थानीय सरकारसंग सहकार्य गरेर काम गर्न सुझाव दिए।

समूहका केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार समूहको इतिहासदेखि वर्तमान अवस्थामा गर्दै आएका काम, आगामी योजना बारेमा जानकारी गराउँदै नयाँ शाखा (रामेछाप) ले आगामी दिनमा फोटो पत्रकारिताको क्षेत्रमा उल्लेख्य काम गर्ने विश्वास व्यक्त गरे । साथै केन्द्रबाट सक्दो सहयोग गर्ने बचन दिए । शाखा गठनको प्रकृयामा महत्वपूर्ण भूमिका निभाएकोमा पत्रकार कुमार श्रेष्ठ, मिलन घिमिरे र युवराज श्रेष्ठलाई विशेष धनयवाद दिनु भएको थियो । त्यसैगरि सल्लाह सुझावको साथमा आवश्यक समन्वय गरिदिनु भएकोमा केन्द्रिय अध्यक्ष प्रदिपराज वन्त र बागमती प्रदेश संयोजक नारायण सिलवाललाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यस्तै, नवनिर्वाचित अध्यक्ष घिमिरेले आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सबैसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । समूहको विधि विधान र नीति भित्र रहेर जिल्लाको महत्पूर्ण क्षेत्रहरूको प्रचारप्रसार गर्न यहाँका स्थानीय सरकार र पत्रकार महासंघसंग सहकार्य गरेर काम गर्ने बचनबद्ध गरे ।

कार्यक्रममा मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ,नेपाल पत्रकार महासघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे, आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार बागमती प्रदेश (सिन्धुली) सदस्य बलवीर भुजेल, राष्ट्रिय फोटो पत्रकार समुहका सदस्य सुमन लिम्बु लगायत जिल्लाका अन्य अग्रज पत्रकारहरूको उपस्थिति रहेको थियो ।
अध्यक्ष नवराज श्रेष्ठले रामेछाप शाखा गठन गर्नपाएकोमा खुसी व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । कार्यक्रम ड्रिम रिसोर्टमा सञ्चालन भएको थियो ।