मोबाइल थिच्दा धाराबाट पानी

खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र मुहानको दूरी करिब ७ सय मिटर छ ।

आरुघाट गाउँपालिका–९ र १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १ सय २० घरमा खानेपानी सुविधा उपलब्ध गराएको छ । प्रदेश सरकारबाट निर्मित आयोजनामध्ये गोरखामा पहिलोपटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो ।

‘मुहाननजिकै रहेको ट्यांकीमा मोबाइल अपरेटिङ बक्स र बक्सभित्र सिम छ,’ उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर श्रेष्ठले भने, ‘मोबाइलको एपबाट नम्बर डायल गरेपछि बटन अन हुन्छ, कोड नम्बर हानेपछि पानी चालु भएको संकेत मिल्छ ।’

ट्यांकीमा पानी भएरनभएको, विद्युत्को भोल्टेज पुगेरनपुगेको मोबाइलबाट थाहा हुने उनले बताए । ‘ट्यांकीमा पानी सकिए मुहान जानुपर्‍यो, नत्र विद्युत् हाफलाइन मात्र आएर भोल्टेज नपुगेको समेत थाहा हुन्छ,’ उनले भने । ५० हजार लिटरको ट्यांकीमा संकलित पानी पर्याप्त रहेको उनले सुनाए । आयोजनामा उपभोक्ताको लगानीसमेत गरी १ करोड २६ लाख खर्च भएको छ ।

खानेपानी तथा सरसफाइ कार्यालयबाट चालु वर्ष साना–ठूला गरी ७६ आयोजना छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जिल्लामा १५ खानेपानी योजना सम्पन्न भइसकेका छन् । यी आयोजना ९ महिनामा बनेका हुन् । घरघरै धारा जडान भएपछि उपभोक्ता समयको बचत भएको भन्दै खुसी छन् को समाचार आजको कान्तिपुर दैनिकमामा छ ।

newskiran.com

newskiran.com

You May Also Like