अरुको बैंक खाताबाट अनाधिकृत रुपमा पैसा निकाल्ने सात जना नियन्त्रणमा

१५ असार २०८० काठमाडौं । अरुको बैंक खाताबाट अनाधिकृत रुपमा पैसा निकाल्ने सात जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हाे।

गत जेठ ५ गते रौतहटको चन्द्रनिगाहपुरस्थित माछापुच्छ«े बैंकको शाखामा रहेको वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको खाताबाट ९ लाख रुपैया गायब भएको थियो। अनुसन्धानको क्रममा जेठ ५, ६ र ७ गते तीन लाखको दरले गरी ९ लाख रुपैया विभिन्न खातामा ट्रान्सफर भएको देखिएको थियो।

यादवको खाताबाट रकम ट्रान्सफर गरी एटिएमको प्रयोगले रकम निकालेको अनुसन्धानबाट देखिन आएको रौतहट प्रहरीले जनाएको छ। घटनामा संलग्न ११ जनामध्ये सात जनालाई विभिन्न स्थानबाट पक्राउ गरी नियन्त्रणमा लिइएको र रौतहट जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका १६ का २१ वर्षीय राजनारायण चौरसिया, वडा नम्बर १९ का २१ वर्षीय महम्मद मुस्तुफा हवारी, दोलखा जिल्लाको बैदेश्वर गाउँपालिका ५ का २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका ९ का १९ वर्षीय महेश थापा, उदपुर जिल्लाको रौउतामाई गाउँपालिका २ का २० वर्षीय केवल रास्ताकोटी तथा सिराहा जिल्लाको मिर्चैया नगरपालिका ८ का १९ वर्षीय दिपे सदा र गोलबजार नगरपालिका ८ का २३ वर्षीय श्रवण दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपि उमाशंकर प्रसाद यादवले जानकारी गराएका छन्। यो समाचार नागरिकमा प्रकाशित छ ।