सहकारीका अध्यक्ष तथा ढोरपाटनका मेयर फरार


७ जेठ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरुको आरोप छ ।

‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरुले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले सम्पर्क गर्न खोज्यौं । तर, उहाँ सम्पर्कविहीन हुनुहुन्छ’ बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन् ।

श्रेष्ठका अनुसार ४ दिन अगाडि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएको कारणले निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै मेयर नेपालीले पत्र दिएका थिए । पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै उनले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेको श्रेष्ठले बताइन् ।यो समाचार अनलाइन खबरमा प्रकाशित छ।