अब फिलिम सुरु हुनु अघि राष्ट्रिय गान बज्ने

पशुपतिनाथ परिसरमा साँझको आरतीअघि राष्ट्रिय गान बजाउनुपर्ने नियम सुनेरबारे राष्ट्रिय गान छनोट समिति संयोजक सत्यमोहन जोशी भन्छन्, ‘राष्ट्रसँग सम्बन्धित समारोहमा मात्र राष्ट्रिय गान गाउनु सान्दर्भिक हुन्छ । बिहे भोज, व्रतबन्ध, पास्नी जहाँसुकै बजाउन मिल्दैन ।’

अझ संविधान दिवस (असोज ३) देखि सिनेमा हलमा पनि फिल्म सुरु हुनुअघि पनि राष्ट्रिय गान बजाउनु पर्ने र सम्मानका लागि सबैले उठ्नुपर्ने नियम बनाइएको छ । सरकारले फिल्म हलमा र पशुपतिनाथको आर्यघाटमा हरेक साँझ हुने आरतीअघि राष्ट्रिय गान बजाउनै पर्ने नियमको विरोध सर्वत्र भइरहेको छ । यसमा सरकार मौन छ । संसदमा, सामाजिक सञ्जाल एवं गाउँठाउँ, हरेक व्यक्तिबीच आलोचना भइरहेको छ । यद्यपि नेकपा समर्थक केही नेता, कार्यकर्ताहरु भने यसको समर्थन गरिरहेका छन् । उसो त नेकपाभित्रै यस्तो गर्न नहुने भन्ने जमातको कमी पनि छैन । अझ केहीले त यसलाई लोकतान्त्रिक गणतन्त्रमा पञ्चायती राजको झल्को भनेर टिप्पणीसमेत गर्न भ्याएका छन् ।

अझ सरकारले संघीय संसदमा पेस गर्न तयार गरेको ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक’ मा पनि सबै फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था छ ।

‘राष्ट्रियता जनाउने समारोहमा राष्ट्रिय गान बजाउनु ठीक हो,’ इतिहासविद् त्रिरत्न मानन्धर भन्छन्, ‘सिनेमा हल, आरती जताततै गाउँदा राष्ट्रिय गानको सम्मान हुन सक्दैन ।’ राष्ट्रिय गानका रचयिता व्याकुल माइला भने सरकारको नीतिप्रति आफ्नो व्यक्तिगत टिप्पणी नरहेको बताउँछन् । उनी यसमा मौन रहन चाहेको बताउँछन् । ‘राष्ट्रिय गान बजाउने सरकारको नीतिप्रति मेरो टिप्पणी छैन, सकारात्मक रूपमा हेरेको छु,’ उनी भन्छन् । राष्ट्रिय गान प्रयोग कार्यविधिअनुसार कुनै पनि राष्ट्रिय उत्सव वा विभिन्न औपचारिक कार्यक्रम तथा फौजी प्रकृतिका सामेली, सैन्य सम्मान, खेलकुद समारोह र विद्यालय प्रार्थनामा राष्ट्रिय गान गाउनुपर्ने व्यवस्था छ ।

जनआन्दोलन ०६२/६३ पछि सरकारले ‘नयाँ राष्ट्रिय गान चयन कार्यदल’ गठन गरेको थियो । कार्यदलको आह्वानमा देशभरिबाट १ हजार २ सय ७२ रचना प्राप्त भएका थिए । त्यसमध्ये व्याकुल माइलाले रचना गरेको ‘सयौं थुँगा फूलका हामी…’ छानियो । सरकारले २०६४ साउन १८ गते उक्त रचनालाई राष्ट्रिय गानका रूपमा वैधानिकता दिएको हो । राष्ट्रिय गानका संगीतका भने अम्बर गुरुङ हुन् । गुरुङको २०७२ जेठ २५ गते निधन भएको हो ।

newskiran.com

newskiran.com

You May Also Like