किन मनाइन्छ त नेपालमा तीज

किन मनाइन्छ नेपालमा तिज

 

सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ।

हिन्दू नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ।

परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरू निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन्।ओ

भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ।

दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठामीठा परिकार खाने चलन छ। तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा पाइन्छ।

हरितालिका व्रतका प्रभावले हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएकाले तीजको व्रतको महत्व बढेको हो। त्यसैले राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीजको व्रत बस्ने गरेको देखिन्छ।

स्कन्ध, लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्व एकातिर छ भने पौराणिक कथा र आख्यानलाई आत्मसात गर्दै सांस्कृतिक सञ्जीवनीले पनि यो पर्व ओतप्रोत छ।

नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरहरूमा आज बिहानैदेखि घुँइचो लागेको छ।

भगवानकाे आराधनासहित आजका दिन महिलाहरूले तीजको गीतको भाकामा आफ्ना वर्षभरिका पीडा पोख्ने चलनस्वरूप विभिन्न धार्मिकस्थलमा महिलाहरूले मादल घन्काउँदै नाचगान गरेको दृश्य देखिन्छ।

नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले आफ्नो धर्म संस्कृतिअनुसार मनाइने तीजको अवसरमा सरकारले महिलाका लागि आज सरकारी बिदा दिएको छ।

newskiran.com

newskiran.com

You May Also Like